‘तल्लो बाटो’ हुँदै अमेरिका गएका थिए, ६ महिना नपुग्दै उतै अस्ताए

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २८ गते सोमवार

दाङ : दाङका तुलसीपुर उपमहानगरपालिका ७ खर्चवाका मनबहादुर पुन गत चैत १२ गते घर छोडेर हिँडेका थिए। अमेरिकी सपनाले उनलाई डोहोर्‍याएको थियो।  ‘तल्लो बाटो’ हुँदै अमेरिका जान उनलाई झन्डै ६ महिना लागेको थियो। एजेन्टलाई झन्डै ५० लाख बुझाएर उनी अमेरिका हिँडेका थिए।

अमेरिका पुगेपछि उनले क्यालिफोर्नियास्थित सेक्रोमेन्टोमा रहेको ‘नमस्ते सेक्रोमेन्टो रेस्टुरेन्ट’ मा काम गर्न थाले। जे सोचले उनी अमेरिका पुगेका थिए आकाश-जमिनको फरक पाए। अमेरिका गएदेखि श्रीमतीसँग उनको कुरा भइराख्थ्यो। श्रीमतीलाई उनले कामबारे दुखेसो पोख्थे। होटलको काम निकै गाह्रो भएको सुनाइरहन्थे। तर श्रीमतीले उनलाई हौसला दिइरहन्थिन्।

३६ वर्षीय मनबहादुर सपनाको देश अमेरिका त पुगे तर जुन उद्देश्यले अमेरिका पुगेका थिए त्यो पूरा नगरी उनी अस्ताए।    आइतबार उनले देहत्याग गरे।  राप्ती समाज अमेरिकाका अध्यक्ष तथा तुलसीपुर घर भई हाल अमेरिकामा बस्दै आएका सुरेश हमालले मनबहादुरको मृत्युको पुष्टि गरे।  मनबहादुरकी ४० वर्षीया श्रीमती शान्ति पुनलाई आफन्तले आइतबार बिहान ५ बजेतिर श्रीमानले काम गर्ने ठाउँमै झुण्डिएर आत्महत्या गरेको खबर दिए। खबर सुन्नासाथ शान्ति छागाँबाट खसेझैं भइन्।

स्थानीय शिक्षक शिव पुनका अनुसार मनबहादुर पहिलो पटक जाँदा खर्चुवाको दुई कठ्ठा जग्गा बेचेर गएका थिए। ६ महिनासम्म एजेन्टले विभिन्न देश घुमाए झुलाए मात्र। त्यसपछि उनी फर्किए।जग्गा बेचेको सबै पैसा स्वाहा भएपछि मनबहादुर फेरि त्यति जग्गा किन्न अमेरिका नछिरी हुँदैन भन्ने सोचमा पुगेका थिए।त्यसपछि मनबहादुरले फेरि खर्चवाको मुख्य सडकमै रहेको दश धुर जग्गा बेचेर अमेरिकाको बाटो तताएका थिए।

अमेरिका पुगेर काम सुरू गरेको ४/५ महिनाको अन्तरालमै दाजु मनबहादुरले आत्महत्या गरेको दुःखद खबरले घर परिवार र आफन्त पीडामा डुबेको उनले बताए। आफन्त समेत रहेका शिवका अनुसार पुर्ख्यौली घर रूकुम पश्चिमको चुनबाङका तत्कालीन इण्डियन आर्मी धनिलाल र आमा फुर्सी पुनका मनबहादुर कान्छा छोरा हुन्।

बुवाआमाका साथै मनबहादुरका जेठा दाजु वीरबहादुरको पनि मृत्यु भइसकेको शिवले बताए। तीन भाइ छोरामध्ये माइला भने काठमाडौंमा बसेर काम गर्छन्।  उनीहरूका दुई सन्तान छन्। १२ वर्षीय समिन कक्षा ६ मा पढ्छन् भने र १० वर्षीय छोरा संगम कक्षा ३ मा अध्ययनरत छन्।  यो समाचार नारायण खड्काले सेतोपाटीमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार