पुरानो प्रेम सम्बन्ध लुकाउन कर्णले गरेका थिए आमा-छोरीको विभत्स हत्या

Author Logo..
अनलाइन राप्ती २०८० असोज ४ गते बिहिवार

दाङ : नाबालिका छोरीसहित आधा शरीर जलेको अवस्थामा आफ्नै घरभित्रै मृत फेला परेका आमा छोरीको हत्या प्रेम सम्बन्ध लुकाउन पूर्वप्रेमीले गरेको खुलेको छ। सल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुंगा थापा टोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको भदौ ३० गते बिहान आफ्नै घरभित्र कोठामा शरीरको आधा भाग जलेको अवस्थामा शव फेला परेको थियो।

यो हत्याकाण्डमा रेवतीका पूर्वप्रेमी सिद्धकुमाख गाउँपालिका–२ का २८ वर्षीय कर्णबहादुर बस्नेतले गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले  बताए। दुबईबाट २६ गते घर आएका कर्णबहादुर दुई दिन घरमै बसेर २९ गते राति पौने १० बजेतिर रेवतीको घरमा पुगेका थिए। जतिखेर रेवतीका आमा छोरी सुतिसकेका थिए। कर्णले ढोका ढकढक पारेपछि रेवतीले को हो? भन्दा कर्णले आवाज दिए। रेवतीले आवाज चिन्नासाथ ढोका खोलिदिइन्।

ढोका खोल्नासाथ कर्णले रेवतीको घाँटी न्याके र कपडाले कसे। उनी बेडमै लडेपछि त्यसैमा पेट्रोल छर्केर आगो सल्काइदिए। रेवतीसँगै नौ महिनाकी छोरी ऋतु मस्त निन्द्रामा थिइन्। बेडमा पेट्रोल छर्केर आगो झोसेपछि त्यो दन्कियो। त्यो आगोले नौ महिनाकी ऋतुका साथै उनकी आमाको मृत्यु भएको डिएसपी कार्कीले बताए। आमा छोरीको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।

डिएसपी कार्कीका अनुसार ७ वर्ष पहिले कर्ण र रेवतीका बीचमा सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो। कर्ण विवाहित थिए। रेवती भने अविवाहित।  उनीहरूको प्रेम सम्बन्ध शारीरिक सम्बन्धसम्म पुग्यो। उनीहरू आपसमा बिहे गर्न मन्जुर भएका थिए। कर्णले पहिल्यै विवाह गरेको थाहा पाइसकेपछि पनि रेवती कर्णसँग विवाह गर्न राजी बनेकी थिइन्। तर, सन् २०१८ मा कर्ण दुबई गए।

त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका – २ झालेढुंगा थापा टोलका सुकलाल थापासँग बिहे गरिन्। रेवती आफूलाई धोका दिएको भन्दै कर्णले बदलाको भावसहित इगो पाल्दै आएका थिए। रेवती र कर्णले आपसी सम्बन्धमा ती शारीरिक सम्बन्धका थुप्रै फोटो र भिडिओहरू बनाइराखेका थिए।

त्यस्ता फोटो र भिडिओ दुवैसँग थिए। त्यस्तै फोटोहरूका कारण एक पटक रेवती र उनका श्रीमान सुकलाल बीचको  सम्बन्ध निकै चिसिएको भए पनि विस्तारै उनीहरूका बीचमा कुरा मिलेको प्रहरी बताउँछ।रेवतीले विवाह गरेको २ वर्षपछि फेरि कर्णले विभिन्न माध्यमको प्रयोग गरी रेवतीसँग सम्बन्ध स्थापित गरेका थिए। त्यतिखेरदेखि उनीहरूका बीचमा तिनै प्रेम सम्बन्धका फोटो र भिडिओका कारण विवाद चुलिँदै गएको थियो। ती तस्बिरहरू डिलिट गर्नुपर्ने विवादको मुख्य कारण थियो।

कर्णलाई पनि ती फोटोहरू सार्वजनिक भए आफ्नो प्रतिष्ठा गुम्ने त्रास थियो। रेवतीले भने फोटोहरू डिलिट गर्न मानिरहेकी थिइनन्। विगत ८ महिनादेखि उनीहरूका बीचमा विवाद चर्किंदै गएको थियो।त्यही समयदेखि नै कर्ण प्रमाण मेटाउनका लागि रेवतीको हत्या गर्नु नै उचित हो भन्ने गलत निष्कर्षमा पुगेर हत्याको योजना बुन्दै आएको तथ्य खुलेको डिएसपी कार्कीले बताए।

नेपाल आएर रेवतीको हत्या गर्ने योजनाका साथ दुबईमै छँदा कर्णले ४ महिना पहिले कार्यरत ठाउँमा बिदासमेत मागेको भए पनि बिदा नमिलेको हुँदा योजना विफल भएको बयान कर्णले दिएको डिएसपी कार्कीले बताए।पछिल्लो समय उनी भदौ २६ गते मात्रै घर फर्केका थिए। उनी यतिखेर नेपाल आउनुको कारण पनि रेवतीको हत्या गर्नुबाहेक अर्को योजना नरहेको प्रहरी बताउँछ। सोही सोचका साथ घर आएका कर्णले दुई दिन आफ्नो घरमा बसेपछि तेस्रो दिनमा रेवतीको हत्या गरेका थिए।

हत्यालगत्तै सुटुक्कै फेरि विदेश फर्किने कर्णको योजना थियो। माल्टा जानका लागि उनले पहिलै एजेन्टलाई दश लाख नगद बुझाइसकेको प्रहरी बताउँछ। तर, रेवतीसहित उनकी नौ महिनाकी छोरीको विभत्स हत्याको खुनले बाटो दिएन। विभिन्न अनुसन्धान गर्दै जाँदा असोज ३ गते प्रहरीले उनलाई पक्रन सफल भएको थियो।

प्रहरीका अनुसार कर्णले विदेशबाट काठमाडौं फर्किनासाथ एक पटक मात्रै रेवतीसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि उनले रेवतीसँग कहिल्यै संवाद गरेका थिएनन्। हत्या हुँदा रेवतीका श्रीमान रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको मृत्युको खबर सुनेपछि तीन दिनपछि मात्रै उनी फर्केका थिए। असोज २ गते उनी आएपछि आमा छोरीको अन्त्येष्टि गरेका थिए।

प्रहरीका अनुसार कर्णका श्रीमती, एक १४ बर्षीया छोरी र एक छोरा पनि छन्। प्रहरीले पक्राउ परेका कर्णलाई आज सार्वजनिक गरेको छ। जिल्ला अदालत  सल्यानले ६ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार