हाडबासको आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १७ गते सोमवार


दाङ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङको राजपुर गाउँपालिका ७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।  हाडबासमा आइतबार आगलागी हुँदा २३ घरगोठ जलेका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री शर्माले यो पीडाको क्षणमा घरबारविहीन पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि जुट्न सबैलाई आह्वान पनि गरेकी छन् । 

गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटनाहरू बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको छ र नागरिकका घर, पशुपक्षी लगायतका निजी सम्पत्ति, अन्नबाली सहित वन जङ्गल र जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै उनले एक प्रेस नोटमार्फत सबै पक्षलाई गम्भीर हुन पनि आग्रह गरेकी छन ।  नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाटै आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको जानकारी गराउँदै मन्त्री शर्माले क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित  तिनै तहका सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उल्लेख गरिन् ।

आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानी को विकल्प नभएको स्पष्ट गर्दै उनले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गरेकी छन् । आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालनका लागि पनि उनले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार