राजपुरको हाडबासमा २३ घरगोठ पूर्णरुपमा जल्दा ८७ लाख बढिको क्षति

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १७ गते सोमवार

दाङ :  राजपुर गाउँपालिका ७ हाडबासमा आइतबार आगलागीबाट २३ वटा घरगोठ पूर्णरुपमा जल्दा  ८७  लाख बढिको क्षति भएको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ ।   दिउँसो साढे एक  बजेतिर हाडबास स्थित गाइघाट सामुदायिक वनमा  लागेको आगो एक्कासि हावाहुरी चल्दा गाउँमा प्रवेश गर्दा बस्तीमा आगलागी भएको थियो ।  प्रहरीका अनुसार ८७ लाख ७५ हजार बराबरको क्षति हुँदा ९९ जना विस्थापित भएका छन् ।  प्रहरीका अनुसार प्रहरीलाई जङ्गलमा आगो लागेको भन्ने सूचना  बिहान १२ बजेतिर आएको थियो । इलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरीहरू आगो नियन्त्रणको लागि पुगेका थिए । तर, नियन्त्रणको क्रममा एक्कासि लागेको हावाहुरीका कारण आगो बस्तीमा पुगेको थियो । 

गाउँमा लागेको आगो नियन्त्रण गर्नको लागि पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत खटेका थिए । यस्तै आगलागीबाट स्थानीय इन्द्र बहादुर वलीको खरले छाएको घर र गोठ पूर्णरुपमा जल्दा करिब ५ लाख बराबरको  क्षति भएको छ  । यस्तै शालिकराम वलीको घर जल्दा करिब २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै कमल केसीको घर जल्दा साढे एक लाख, चन्द्र बहादुर कुमालको  घर र गोठ जल्दा एक लाख,  यम बहादुर कुमालको घर र गोठ जल्दा २ लाख, भीमी  कुमारी बोहराको घर र गोठ जल्दा ४ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार लोक बहादुर भण्डारीको घर र गोठ जल्दा  करिब ४ लाख, दामोदर भण्डारीको घर, गोठ र ४ वटा बाख्रा गरी करिब ६ लाख, भगिरथ कवरको घर, गोठ जल्दा साढे एक लाख , खेमलाल खत्रीको घर, गोठ पूर्णरुपमा जल्दा करिब २ लाख बराबरको क्षति भएको छ । यस्तै खेमराज डाँगीको घर, गोठ जल्दा ६ लाख, रुपनाथ योगीको घर, गोठ जल्दा ४ लाख, टेक बहादुर डाँगीको घरगोठ जल्दा करिब ९ लाख, शालिकराम डाँगीको किराना पसल, घर, गोठ पूर्णरुपमा क्षति हुँदा  ३ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । 

स्थानीय धर्मराज डाँगीको  घर, गोठ जल्दा करिब ७ लाख,  अर्जुन योगीको ३५ हजार,  नर बहादुर थापाको ७ लाख,  विशाल बुढाको ४ लाख,  काली ऐरीको  २ लाख,  सीता भण्डारीको एक लाख २० हजार,  भेष बहादुर केसीको ५ लाख, मानिनाथ कवरको ५ लाख र लाल बहादुर केसीको ५ लाख बराबरको क्षति भएको छ । आगलागी पीडितहरूलाई आ–आफ्नो पाखो बारीमा स्थानीय पालिकाबाट खाद्यान्न र मानव कल्याण शाखा घोराहीबाट टेन्ट, म्याट्रेस र कम्बलको व्यवस्था गरी तत्कालका लागि पुनर्स्थापित गरिएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार