इलाममा बिहान ११ बजे र बझाङमा बिहान १० पछि मतगणना सुरू हुने

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १६ गते आइतवार

इलाम :  इलाम २ मा मतगणना बिहान ११ बजे शुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो ।  मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए। त्यसपछि क्रमश: चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ।

सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मतगणना हुनेछ।  मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ।  मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ।

यस्तै बझाङमा मतपेटीका संकलन सकिएको छ।   सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको प्रजिअ कुइँकेलले बताए। उनका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बिहान १० पछि मतगणना कार्य सुरू गरिने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार