बैतडीमा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ४ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७९ मङ्सिर ५ गते सोमवार

दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्।  हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल,प्रहरी जवान पुतली खड्का, प्रहरी  जवानहरु नरेश कठरिया,आशा धामी, भानु विष्ट,टिकेन्द्र ऐरी,चन्द्र सिंह ठगुन्ना र चालक देवराम महर घाइते भएका हुन्।

घाइतेमध्ये गणेश  र पुतलीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।  उपचाररत  नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारको लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा जिप दुर्घटनामा परेको थियोे। जिपमा १२ प्रहरी र १ चालक गरि १३ जना सवार रहेका थिए।  जिल्ला सदरमुकाममा मतपेटिका पुर् याएर पाटन फकिँदै गरेको प्रहरी टोली सवार जीप बिहान ७ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको छ। रातभर मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार