नबौँ राष्ट्रिय खेलकुदका लागि जिल्ला स्तरीय खेलाडी छनोट सुरु 

Author Logo..
लक्ष्मण बस्नेत  २०७९ भाद्र १७ गते शुक्रवार

दाङ :  नबौँ  राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्ला स्तरीय खेलाडी शुक्रबार देखि सुरु भएको छ ।  दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना एवं युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको तत्त्वावधानमा  सञ्चालन भएको प्रतियोगिताको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले राष्ट्रको सान र पहिचानसँग जोडिएको खेलकुद क्षेत्रको विकास स्थानीय स्तर बाट हुनु पर्ने बताए ।

 राष्ट्रको गौरव र पहिचानका रुपमा रहेको खेल क्षेत्रलाई उचाइमा पुर्‍याउन खेलकुद विकास र सङ्घहरूको प्रयासले मात्र सम्भव छैन अब स्थानीय स्तर बाटै आम नागरिकको चासो र चिन्तन उत्तिकै आवश्यक रहेको बताए  । साथै उनले नबौँ राष्ट्रिय खेलकुद खेलाडीको भविष्य कोर्ने एउटा ऐतिहासिक अवसर भएकाले अनुशासनको उच्च आदर्शलाई आत्म साथ गर्दै आफ्नो कला कौशल प्रस्तुत गर्न खेलाडी लाई आग्रह समेत गरे ।

प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको विशिष्ट आतिथ्यमा भएको थियो  ।

सो अवसरमा जिल्ला प्रहरी प्रमुख वीर बहादुर वली, रणसिंह दल घोराहीका निमित्त गणपति भागिरथ महत लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिक, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्प राज मल्ल, खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो । दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रममा गोरखा मावि तुलसीपुर, डिभाइन टेम्पल अकाडेमी तुलसीपुर, सर्मिला केसीले नृत्य प्रस्तुत गरेका थिए , भने कराते खेलाडीले काता बुन्काई प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबीच जिल्ला छनोट प्रतियोगिता अन्तरगत बेलझुण्डीमा पुरुष भलिबल, महिला फुटबल छनोट सम्पन्न भएको छ,  भने अन्य खेलको छनोट भदौ १९ गते सम्म चल्ने दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ति सोमैले जानकारी दिइन् । नबौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ आउँदो असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार