परम्परागत खेती प्रणालीले परनिर्भरता बढायो : मेयर खड्का

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २९ गते आइतवार

दाङ :   तुलसीपुर उपमहानगरपालिकाका मेयर  टीकाराम खड्काले परम्परागत कृषि प्रणालीका कारण पर र्निभरता बढेको बताए । ज्ञानमा आधारित एकीकृत दिगो कृषि नेपाल किसान परियोजना २ को समीक्षात्मक कार्यक्रममा नगरप्रमुख खड्काले व्यवसायिक कृषि प्रणालीलाई किसानहरूले व्यवहारमा उतारे मात्रै परनिर्भरता हट्ने बताए  । कार्यक्रमका प्रमुख अतिथि समेत  रहेका खड्काले कृषि प्रणालीलाई सुधार गरेर लैजानुपर्ने बताए । 

कार्यक्रममा  नगरका प्रवक्ता एवम् अर्थ समितिका संयोजक माधव वलीले विज्ञताको ज्ञानको अभावका कारण किसानहरूले लाभ प्राप्त गर्न नसकेको बताए । उनले किसानहरूले एउटा मात्रै खेती प्रणालीलाई अघि सारे लाभ लिन सक्ने बताए ।  वडा नम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटाले वडामा करिब ३० प्रतिशत किसानहरूको मकै खेती रोग किराले नष्ट गरेको बताए । उनले कतिपय स्थानमा प्राविधिकहरूको राय सल्लाहअनुरूप खेती गरे पनि सुधार हुन नसकेको बताए । 

वडा नम्बर १० का वडा सदस्य ज्ञानेन्द्र बहादुर खड्काले प्राविधिकको राय सल्लाहअनुरूप नै खती गर्दा समेत पर्याप्त रुपमा उत्पादन लिन नसकिरहेको बताए  । किसान २ परियोजनाका जिल्ला संयोजक सुधा मिश्रले रोग कीरा व्यवस्थापन ( एकीकृत शत्रु जीव व्यवस्थापन ), धान नर्सरी व्यवस्थापन, उत्पादन प्रविधि फौजी कीरा नियन्त्रणमा मकै खेती लाइनमा गर्दा सहज हुने बताए ।

कृषि शाखाका प्रमुख धनराज गौतमले ३५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरेपनि प्रविधि र ज्ञानको अभावमा उत्पादन पर्याप्त मात्रामा लिन नसकिरहेको बताए । कार्यक्रमको सञ्चालन हरि प्रसाद खनालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार