जनै लगाएर थर नै जनैदार

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २७ गते शुक्रवार


दाङ :  प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइछ । बिहान सबेरै उठी पवित्र नदी, तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ । कुनै समय पुरोहितले नै हातमा रक्षाबन्धन लगाउने चलन थियो । तर, पछिल्लो समय दिदीबहिनीले दाजुभाइ राखी बाँध्ने चलन बढेको भने, वैदिक सनातन अनुसार ब्राह्मण , क्षेत्री र वैश्यहरूले नै जनै लगाउने परम्परा भएयता पनि पछिल्लो समय अन्य जातजातिले पनि लगाउन शुरु गरेका छन् ।

जनै लगाउँदा थर नै जनैदार
तुलसीपुर उपमहानगरपालिका १८ का टोप बहादुर दमाईले २०५१ / ५२ सालमा जनै लगाउनका लागि तत्कालीन राज विरेन्द्र लाई पत्र पठाएका थिए । राजा विरेन्द्र बाट हिन्दु धर्म मान्ने जुनसुकै ब्यक्तिले जनै लगाउने मिल्ने जवाफ आएपछि उनले जैन लगाउन शुरु गरेको बताए । उनले भने,‘ म दमाईको छोरा हुँ । मैले अहिले जनैदार लेख्ने गरेको छु । मलाई राजाबाट नै मलाई जनैदार भनेर हुकुम आएको थियो । ’ उनले हिन्दु धर्म मान्ने नागरिकहरूलाई समान अधिकार भएको वेदमा पनि लेखेको हुँदा आफूलाई जैन लगाउने रहर लागेको र तत्कालीन राजाबाट पनि हिन्दु धर्म मान्नेलाई समान अधिकार भएको भन्ने जवाफ आएपछि आफूले लगाउन शुरु गरेको समेत बताए ।

उनले पढ्ने बेलामा पनि मनुस्थिती ग्रन्थमा पनि ब्राह्मणले आफैले रोपेको शुद्ध कपासको जनै लगाउनु, क्षेत्रीले सनको पहिलो डोरी लगाउनु र राज्यको संरक्षण गर्नु , वैश्यले ब्यापार गर्नु र भेडाको उनको जैन लगाउनु भन्ने उल्लेख रहेको पनि बताए । तर, सूत्रलाई न जैन लगाउने भनेको छ, नलगाउन पनि नभनेको भन्दै मैले त्यसको खोजी कार्य गर्दा लगाउन मिल्ने कुरा आएपछि लगाउनु शुरु गरेको पनि उनको भनाइ थियो । उनले आफूले धरानका छविलाल पण्डितबाट जनै धारण गरेको भन्दै जनै लगाउँदा सभ्य समाजको सिर्जना गर्ने भएकाले पनि आफूले लगाएको बताए । उनले भने,‘ यसमा पनि नियमहरू हुन्छन् । जसले गर्दा मासिनलाई राम्रा काम गर्नतर्फ मदत गर्दछ । सधैँ मैले बिहान नुहाएर मात्र खान्छु । यसले गर्दा स्वास्थ्यमा पनि फाइदा पुगेको छ । म सबै दलितहरूलाई पनि जनै लगाउन आग्रह गर्दछु । हिन्दु धर्म मान्ने सबैलाई समान अधिकार रहेको छ । ’

उनले जनै लगाउनको लागि कसैले पनि नरोकेको उल्लेख गरे । उनले हिन्दु धर्म मान्न जुनसुकै ब्यक्तिले जनै लगाउने मिल्ने भएकाले यसमा कानुन र धर्मले पनि नरोकेको उल्लेख गरे । उनले पछिल्लो समय युवा पुस्ताहरूमा यो संस्कृति हराउँदै गएको दुख व्यक्त गरे । उनले भने,‘ यो भनेको हामी हिन्दुको संस्कृति, धर्म र परम्परा हो । तर, अहिले पछिल्लो पुस्तामा नेपाली संस्कृति भन्दा विदेशी संस्कृति बढिरहेको छ । त्यसैले हामी सबैले आफ्नो धर्म, संस्कृति संरक्षण गर्न जरुरी रहेको छ । ’

पुराना पुस्तालाई चिन्ता
तुलसीपुर उपमहानगरपालिका १८ मनिकापुरका ७० वर्षीय जुद्ध बहादुर वली पछिल्लो समय विभिन्न विकृतिका कारण जनै लगाउनेको संख्या घट्दै गएको बताए । जनै पुर्खादेखि गाउँदै आएको भएयता पनि पछिल्लो समय युवाहरूले जनै लगाउन झन झट्ट माग्ने गरेका कारण पनि नयाँ भन्दा पुरानै पुस्ताले लगाउने गरेको भन्दै आफ्नो धर्मकर्मलाई छाड्न नहुने बताए । यस्तै धर्मकर्म गर्न छाड्ने ब्यक्तिहरू पछाडि पर्ने पनि उनको भनाइ थियो ।
उनले भने,‘ हामीले पुर्खाले गर्दै आएका धर्मकर्म गरेर अहिले यहाँसम्म आइपुगेका छौँ । मैले फोहोर साल पनि जनै पुजाएर लगेको थिए । फेरि यस पटक पनि पुजाएर लैजान आएको हुँ । पहिला हामीले आफैले जनै बनाउँथ्यौँ । अब बजारमा किन्न पाइन्छ । हाम्रा वुवाहरूले जैने बनाउन शुरु गरेपछि हामीलाई जनै पूर्णिमा छिट्टै आउँदैछ, भन्ने लाग्यो । अब आफूले बनाउने कुरा त परको हो । लगाउन पनि छाड्न लागे सकेका छन् । ’ उनले पछिल्लो पुस्ताकाले यसका बारेमा जानकारी भएपनि विभिन्न बहानामा थाहा नपाएको जस्तो गर्ने गरेको पनि बताए ।

जैन पूर्णिमा र रक्षा बन्धनको महत्व नयाँ पुस्तालाई दिन जरुरी
तुलसीपुर उपमहानगरपालिका ६ का भिमलाल मरासेनीले रक्षा बन्धन, जनै पूर्णिमा र श्रावणी स्थानको महत्व नयाँ पुस्तालाई दिन जरुरी रहेको बताए । यसको ज्ञान र महत्व बुझाउन नसक्दा पछिल्लो पुस्तामा यसको महत्व घट्दै गएको उनले उल्लेख गरे । उनले भने,‘ आजको एक दिनमा जसोतसो लगाउने चलन रहेको छ । तर, ३६५ दिनसम्म कमै मात्रमा लगाउने गरेको पाइन्छ । जनै किन लाउने, यसको महत्व के छ । यसका फाइदा के छन् ,भन्ने कुरा बुझाउन जरुरी रहेको छ । ’ उनले हाम्रो रीतिरिवाज चाड पर्व धर्म संस्कृतिको बारेमा घर परिवारले नै बुझाउन नसक्दा र स्वयम् व्यक्ति हाम्रो धर्म संस्कृति, संस्कार र परम्परामा घुलमिल नभएर पश्चिममा संस्कृतिमा रमाउने गर्दा अहिले समस्या भइरहेको पनि बताए ।
वैदिक सनातनमा ब्राह्मण, क्षेत्री र वैश्यलाई जनै लगाउन उल्लेख छ, तर, कसैलाई भेदभाव गर्नु हुँदैन
नेपाल संस्कृति विश्वविद्यालय बेलझुण्डी दाङ सह प्राध्यापक डा। अर्जुन प्रसाद भट्टराईले वैदिक सनातनमा ब्राह्मण, क्षेत्री र वैश्यलाई मात्र जनै लगाउने परम्परा भएपनि लगाउने र नलाउने भन्नेमा कसैलाई भेदभाव गर्न नहुने बताए । उनले रगतलाई जात माने सूत्रहरूलाई जनै लगाउन नपाउने चलन पहिला भएयता पनि पछिल्लो समयमा आर्य समाधिहरुले फेरि सूत्रहरूलाई पनि जनैको अधिकार दिनु पर्छ, भनेर यो अभियान चलाउन लागेको पनि बताए । उनले धार्मिक अभियानहरू एक दिन राता रात सफल नहुने भन्दै कालान्तरमा ति कुराहरू पनि हुँदै आउन सक्ने बताए । उनले पछिल्लो समय जनैको महत्व बढ्दै गएको पनि बताए । उनले बिचको केही चरणमा जनै लगाउनेको संख्या घटेको भएयता पनि अहिले फेरि महत्व बुझेर बढ्दै गएको पनि प्रष्ट पारे ।

अहिले समाजमा धार्मिक पूर्ण जाँगरभइरहेको हुँदा सबैमा धर्मको जागृति गराइरहेको पनि उनले उल्लेख गरे । उनले भने,‘ कतिपयले छाड्दै गएको पनि पाइन्छ । तर, जनैको महत्व बुझेर अहिले लगाउनेको संख्या बढेको मलाई लाग्छ । उनका अनुसार मनुको शास्त्र अनुसार मानिसहरूलाई ४ भागमा बाँडिएको छ । जसमा वैदिक काम गर्नेलाई ब्राह्मण भनिन्छ । देश र जनताको रक्षा गर्नलाई क्षेत्रीय, कृषिकर्म गर्नेलाई वैश्य र सेवा मूलक कार्य गर्नेलाई सूत्रभनिएको छ । पनि उल्लेख गरे । उनले जनै लगाउने कुरामा पनि धेरै मतमतान्तर रहेको भन्दै आर्य समाधिहरूले सबैले लगाउन सकिन्छ, भन्ने कुरा भएयता पनि वैदिक सनातनमा ब्राह्मण, क्षेत्री र वैश्यलाई मात्र जनै लगाउने परम्परा रहेको पनि बताए ।

९ सराको जनै
जनै ९ वटा सराको हुने र प्रत्येक सरामा एउटा ÷ एउटा देवताहरूको आराधना , स्थापना र पुजा गर्ने पनि बताए । उनले भने,‘ हाम्रा जति पनि आध्यात्मिक चिन्तन छन् । त्यो चिन्तनलाई रक्षा बन्धनमा स्थापना गरेर आध्यात्मिक र पारलौकिक कुराहरू प्राप्त गर्नको लागि जनै धारण गर्ने गरिन्छ ।

राखीले दाजु बहिनीको नाता पवित्र बनायो
कुनै समयमा रक्षाबन्धन ब्राह्मणहरूले मात्र बाँधिदिने गरेको भएयता पनि पछिल्लो समय दिदी बहिनीहरूले नै दाजु भाइहरूलाई रक्षाबन्धन ( राखी ) बाँधिदिने चलन नेपालमा आएपछि त्यसले उनीहरूको बिचको पवित्र नाता जनाउने गरेको घोराहीकी साजिदा सिद्धिकीले बताइन् । राखी बाँध्ने परम्परा अहिले हरेक समुदायले मनाउने लागेको भन्दै उनले खुशी व्यक्त गरिन् । उनले रक्षा बन्धन बाँध्ने बहानामा दिदीबहिनीहरू दाजुभाइलाई भेट्न पाउने अवसर रहेको पनि बताइन् ।
उनले नेपालमा जनै पूर्णिमा रक्षाबन्धन भन्ने गरेको भएयता पनि भारतमा आजको दिनलाई राखी बाँध्ने दिने भनेर चिनिने पनि बताइन् । राखी बाँध्ने मिठो खाने, उपहारहरू दिने जस्ता कुराले आफूलाई धेरै मन पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार