लघुवित्तिय संस्थाको ऋण तिर्न मिटर ब्याजमा ऋण, मिटर ब्याजले उठिबास ( भिडिओसहित )

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २५ गते बुधवार


दाङ :   घोराही उपमहानगरपालिका १६ की उषा धामीले  गार्मेन्ट व्यवसाय गर्नको लागि एउटा लघुवित्त वित्तिय संस्थाबाट ऋण लिइन् । त्यसपछि उनीले चौतारी, आशा लगायत अहिले १० वटा लघुवित्तबाट करिब १५ लाख ऋण लिएकी छन् । शुरुमा गार्मेन्टबाट राम्रो आम्दानी भएपनि कोरोना महामारीका कारण व्यवसाय नै बन्द भएपनि उनले किस्ता तिर्नको लागि एकपछि अर्को संस्थाबाट ऋण लिइदै जादा अहिले उनको उठिबास लागेको छ । उनले लघुवित्तलाई किस्ता तिर्नको लागि मिटर ब्याजमा पैसा ल्याएर दिँदा आफ्नो करोडको सम्पत्ति गएको र घरमा पनि राम्रो सम्बन्ध नभएको बताइन् ।

उनले भनिन्,‘ शुरुमा एउटा समुहमा लागेर पैसा निकाल्यौ । त्यसपछि अहिले १० वटा समुह  छन् । कोरोनाले गर्दा गार्मेन्ट पनि घरमा लगेका छौँ । खासै आम्दानी हुँदैन । यि समुहमा किस्ता तिर्नको लागि मिटर ब्याजमा पैसा ल्याए । अहिले मेरा एक करोड बराबरको सम्पत्ति गएको छ । म बरबाद भएकी छु । ’ उनका अनुसार चौतारी,  आशा लगायत वित्तिय संस्थाबाट एक लाख देखि २–३  लाखसम्म ऋण लिएकी थिइन् ।  उनले त्यो ऋण तिर्न नसक्दा श्रीमानसँग पनि घरमा झगडा भइरहने र वित्तिय संस्थाका व्यक्तिहरूले किस्ता माग्न घरमा आउँदा आफूलाई धेरै यातना दिने गरेको बताइन् । वित्तिय संस्थाको पैसा र मिटर ब्याजको पैसाले आफ्नो श्रीमानसँग राम्रो सम्बन्ध नभएको भन्दै उनले श्रीमानले पनि तैँले ल्याएको पैसा हो ? तपाईँ आफै तिर भन्ने गरेको गुनासो गरिन् । उनले भनिन्,‘ दैनिक रुपमा पैसा माग्न आउँछन् । मसँग पैसा छैन् । भएको पैसा तिर्दै आएकी छु । घरमा ताल्चा लगाउँछु,  गाली बेइज्जती गर्ने, छोराछोरीलाई विद्यालय पढ्न दिन्न, कालो सूचीमा राख्छु भन्दा मैले बाध्यताले मिटर ब्याजमा पैसा लिए । त्यसले  गर्दा पनि अहिले उठिबास लागेको हो । ’

यस्तै उनले वित्तिय संस्थाका कर्मचारीहरू पैसा माग्न घरमा आउँदा शौचालय, घरको कौशीमा समेत खोज्न जाने र आफूलाई मरेपनि हुन्छ, भन्ने गरेको भन्दै उनले धेरै यातनाहरू दिने गरेको आरोप लगाइन् । ‘ यो मरेपनि हुन्छ, यो मरे ऋण मिनाहा हुन्छ, भनेर भन्ने गर्दछन् । घरमा किस्ता माग्न आएपछि छोरीहरू विद्यालय नै जाँदैनन् । उनीहरूले पनि धेरै तनाव पाएका छन् ।’  उनले आफू जस्तै यस्तो समस्यामा परेका धेरै भएको भन्दै ऋण लिएपछि आफूहरू तिर्न तयार भएता पनि अहिले पैसा नहुँदा समस्या भएको पनि बताइन् । उनले विदेशतिर कमाउँन जान्छु, अनि तिर्छु भन्दा पनि संस्थाका कर्मचारीहरूले जान पाइन्न कालो सूचीमा राखिदिन्छौ, भनेर धम्क्याउने  गरेको पनि बताए । 


यस्तै घोराहीकी शोभा वलीको पनि समस्या उस्तै रहेको छ । धेरै वित्तिय संस्थाबाट ऋण लिँदा अहिले तिर्न नसक्दा संस्थाका कर्मचारीहरूले दैनिक  रुपमा धम्क्याउने, मानसिक यातनाहरू दिने गरेको बताइन् । उनले लघुवित्त संस्थाहरूले आफूलाई धेरै तनाव दिएका कारण आन्दोलनमा उत्रिनु परेको समेत बताइन् ।  उनले भनिन्,‘ हामीले ऋण लिएका छौँ । हामीले तिर्दैनौँ, भनेका पनि छैनौँ । तर, मेरो घरमा गएर सिवाइसी संस्थाले मलाई मान्छे लगेर पिट्न समेत खोजेको थियो । ’  उनले लघुवित्त संस्थाहरूले आफूहरूलाई   ऋण मात्र दिने र सीप मूलक तालिम नदिँदा अहिले समस्या भएको बताइन् । उनले आफूहरूले संस्थालाई पटक पटक सीप मूलक तालिम दिन आग्रह गर्दा पनि नदिएको र पैसा मात्र  लगाउने गर्दा त्यो पैसा मासिने भएकाले अहिले समस्या भएको बताइन् ।

उनले भनिन्,‘ हामीले संस्थाबाट एक लाख ऋण लिदाँ संस्था विभिन्न बाहना १०–१५ हजार रुपैयाँ काट्ने र ८५ हजार हामीलाई दिन्छ । अनि हामीले एक लाखको साँवा ब्याज एक महिनामा १५ हजार जति तिर्नु पर्ने हुन्छ । यदि हामीलाई कुनै  आयआर्जनको बाटो दिएको भए सहज हुन्थ्यो । हामीलाई पैसा मात्र लगाउने गर्ने सीप मूलक तालिम माग्दा हाम्रो संस्थाले दिँदैन, भन्ने अहिले आएर सबै दिदीबहिनीहरू यही समस्यामा छौँ ।’ लघुवित्त संस्थाहरूले आफू जस्ता नागरिकहरूको जीवनस्तर माथि उठाउने भन्दा पनि अझ उठिबास लगाउन लागेको उनको भनाइ थियो ।  

यस्तै घोराही कै माधवा पोख्रेलले बुटिक सञ्चालन गर्नको लागि लघुवित्त संस्थाबाट ऋण लिएकी थिइन् । उनको बुटिक राम्रै चलेपछि किस्ता पनि समय मै बुझाउँदै  आएकी थिइन् । तर, कोरोना महामारीले गर्दा बुटिक बन्द  भयो र मोटरसाइकलको ठक्करबाट एक वर्षसम्म उपचार गर्दा पैसा धेरै खर्च भयो । जसलेगर्दा उनलाई किस्ता तिर्न समस्या परेपछि अहिले पनि तनावमा छिन् । उनले भनिन्,‘ हामीले १२ किस्ताको लागि ऋण लिएका हुन्छौँ । तर, १३ किस्ता तिरेपछि मात्र त्यो सकिन्छ । हामीले आफूले जम्मा गरेको पैसा पनि पाउँदैनौँ । संस्थाका कर्मचारीहरूले विभिन्न बाहना बनाएर दिँदैनन् ।’

उनले संस्थाका कर्मचारीहरू दैनिक रुपमा पसलमा किस्ता माग्न आउने र उनीहरूले धेरै मानसिक यातनाहरू दिने गरेको बताइन् । उनीहरूले किस्ता कुनै पनि हालतमा दिन आग्रह गर्ने र यदि नदिएमा ब्याजको पनि ब्याज लगाउने भने धम्की दिने गरेको गुनोसा गरिन् । यस्तै एक संस्थाका कर्मचारीले पैसा दिन नसक्ने भए, मर्न समेत भनेको भन्दै उनले आफू मरेपछि किस्ता मिनाहा हुने समेत भनेको बताइन् ।  उनका अनुसार  तोकिएको दिनमा किस्ता तिर्न नसकेमा ५ सयदेखि एक हजारसम्म दैनिक जरिवाना लगाउने गरेका छन् ।

उनले आफ्नै छिमेकीले एक संस्थाबाट घरजग्गा धितो राखेर ८ लाख ऋण लिएको र त्यो तिर्न नसक्दा त्यो संस्थाले ८ लाख साँवा र ब्याज गरेर २५ लाख पु¥याएको र आफूहरू मुद्दा नहालेपछि पछि १४ लाख बनाएको भन्दै आफू जस्ता सोझा महिलाहरूलाई ठग्ने गरेको आरोप लगाइन् । तुलसीपुर उपमहानगरपालिका १८ की सिता बोहोराको पनि पीडा उस्तै रहेको छ । उनले पनि वित्तिय संस्थाबाट धेरै तनाव भोग्दै आएको र घरबाट भाग्नु पर्ने अवस्था  आएको बताइन् । उनले गाउँकी केही दिदीबहिनीहरू घरमा किस्ता माग्न आउने कर्मचारीको यातनाले घरै छोडेर हिँडेको पनि बताइन् । उनले संस्थाका कर्मचारीहरूले मिर्गौैला बेचेर भएपनि, कोहीसँग बसेर भएपनि  किस्ता दिन भन्दै उनीहरूले आफूहरूलाई धम्क्याउने गरेको बताइन् ।  उनले आफूहरूले सकेसम्म किस्ता तिर्दै आएको भएयता पनि अहिले पैसा नहुँदा संस्थाका कर्मचारीहरू आफूहरूको घरमा बिहान ७ बजेदेखि  बेलुका ७ बजेसम्म पैसा लगेर जाने भन्दै बस्ने  गरेको पनि बताइन् ।

उनले भनिन्,‘ अहिले पैसा छैन् । पैसा भए त हामीले तिर्दै आएका छौँ, भन्दा उनीहरूले तेरो श्रीमानलाई विदेशबाट झिकाउँछौँ । तेरो ३ पुस्तासम्मलाई कालो सूचीमा राख्छौँ,  भन्ने थर्काउँछन् । ऋण खाएपछि हामीले तिर्दैनौँ, भनेका  छैनौँ । तर, हामीसँग अहिले आम्दानी स्रोत नहुँदा समस्या भएको हो ।’ यस्तै समुहमा बस्ने कुनै पनि दिदीबहिनीहरूले किस्ता नदिएपछि आफूहरूले जम्मा गरेको पैसा काटिदिने र आफूहरूले पैसा माग्दा नदिने गरेको पनि उनको भनाइ थियो । यस्तै कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५  का गगन विश्वकर्माले अहिले देशभरका सोझासिधा गाउँका महिलाहरूले लघुवित्त संस्थाहरूले विभिन्न बहानामा ठग्दै आएको आरोप लगाए  । उनले देशभर यस्तै समस्या भएपनि आफूहरू अहिले आन्दोलन उत्रिएको पनि बताए । उनले संस्थाहरू गाउँ- गाउँमा गएर विना धितोमा लगानीमा दिने भनेर समुह बनाएर तिनै समुहमा बसेका महिलाहरूलाई धितोमा राखेर पैसा दिने काम गरेको पनि आरोप लगाए । उनले एक लाख ऋण दिँदा विभिन्न बहानामा १५ हजार रकम  काटिदिने र बाँकी पैसा दिने गरेको पनि बताए ।

उनले भने,‘ एक लाख माग्दा ८५ हजार मात्र पाइन्छ । तर, हामीले तिर्दा एक   लाखको साँवा, व्याज तिर्नु पर्छ । एक वर्षमा जति पटक पैसा ऋण लिएपनि बिमा बनाउनु पर्छ । समुहका सदस्यहरूले मात्र नभइ घरका श्रीमानको पनि बिमा बनाउनु पर्छ । बिमा त एक पटक  गराए पुग्छ, होला तर, यहाँ पटक पटक बनाएर ठग्ने काम भइरहेको छ ।’ अहिले आफूहरूको आन्दोलन देशभर भइरहेको उनको भनाइ छ ।  

देशभर ५८ लाख महिलाहरू विभिन्न संस्थामा आवद्ध, ३३ लाख ऋणी

यस्तै लघुवित्तीय संस्था विरुद्ध संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष सल्यान कपुरकोटका  फत्ते बहादुर पुनका अनुसार देशभर करिब ६३ वटा लघुवित्त संस्थामा  ५८ लाख महिलाहरू संस्थामा आवद्ध रहेका छन् ।  ५८ लाख महिलाहरू मध्य करिब ३३ लाख महिलाले विभिन्न वित्तिय संस्थाहरूबाट ऋण लिएको उनले बताए । ति मध्य २२ लाख महिलाहरू ऋण तिर्नै नसक्ने अवस्थामा रहेको र जसले गर्दा उनीहरूको उठिबास भइरहेको  उनको भनाइ थियो ।
उनले यदि २२ लाखले ऋण तिरेमा उनीहरु  सुकुम्बासी हुने भन्दै  त्यो भएमा नेपालमा सुकुम्बासी आयोगले धान्न नसक्ने पनि बताए ।

आफूहरूले नेपालको संविधान २०७२ र २०७४ सालको मुलुकी ऐन अनुसार आन्दोलन गरेको र आफूहरूका ५ वटा मागहरू रहेको पनि बताए । उनले २०७९ असोज २५ गते काठमाडौँमा देशभरका वित्तिय संस्थाबाट पीडितहरू गएर आन्दोलन गर्न लागेको पनि बताए ।  नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्तीय संस्थाहरू  लगाएको ऋण सामूहिक रुपमा मिनाहा गर्नुपर्ने, मा गरिब  किसानहरूलाई ब्याज अनुदानमा ऋण प्रदान गर्नु पर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नु पर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति दाङले जनाएको छ । 

बाहिर आएको कुरा सबै लगत हो : वित्तिय संस्था

यता वित्तिय संस्थाहरूले भने अहिले विभिन्न बहानामा आन्दोलन भइरहेको र जुन आरोपहरू लागेको छ , ति सबै गलत भएको बताएका छन् ।  दाङको बिजौरीमा रहेको लक्ष्मी लघुवित्त वित्तिय संस्थाकी शाखा प्रमुख शान्ति कार्कीले आन्दोलन गर्नेहरू  लगाएको आरोप झुटा रहेको बताइन् । उनले आफूहरूले संस्थामा आवद्ध सदस्यहरूलाई मिटर ब्याजका रुपमा पैसा लगानी नगरेको पनि बताइन् ।  उनले आफूहरू राष्ट्र बैंकको नीति नियम र निर्देशन अनुसार नै काम गर्दै आएको बताइन ।

उनले आफूहरूलाई राष्ट्र बैंकले नै  अनुगमन गर्ने भएकाले कुनै पनि वित्तिय संस्थाहरूले चर्को ब्याजमा लगानी नगरेको र गरेको भएपनि कानुनी कारबाहीको भागेदारी हुनु पर्ने उल्लेख गरिन् ।
यस्तै उनले आफूहरूले ऋण लिएका समुहका सदस्यहरूलाई जबरजस्ती रुपमा पैसा असुलको लागि नगएको पनि बताइन् । उनले भनिन्,‘ हामीले ऋण असुल्ने क्रममा अहिलेसम्म कुनै पनि महिला दिदीबहिनीहरूलाई नराम्रो गरेका छैनौँ । उनीहरूको अवस्था अनुसार ऋण असुल गर्दै आएका छौँ । हाम्रा विरुद्धमा बाहिर आएका सबै कुरामा सत्यता छैन् ।’ 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार