निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा हो : उपाध्यक्ष नेम्वाङ

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २१ गते शनिवार


दाङ :  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा भएको बताए । प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले अब मुलुकमा उत्पन्न धेरै गतिरोधहरू निर्वाचनले मात्रै किनारा लगाउने बताए ।उनले नेकपा एमालेको निरन्तर दबाबका कारण गठबन्धन सरकारले निर्वाचन घोषणा गरेको भएपनि विद्यमान अन्यौलको परिस्थितिमा सबै कुराको छिनोफानो गर्न तागत जनतासँग भएको हुँदा आफ्नो दल खुसी भएको बताए ।

प्रमुख प्रतिपक्षी दल हुनुको नाताले एमालेले सडक र संसद्मा उठाउँदै आइरहेका अनुत्तरित प्रश्नहरूको छिनोफानो गर्ने तागत जनतासँग मात्रै रहेको हुँदा निर्वाचन अपरिहार्य रहेको उनको भनाई थियो । उनले अहिलेको परिस्थितिमा नेकपा एमालेसँगै एक्लै भिड्न सक्ने हैसियत कसैको पनि नभएको जिकिर गरे ।एमालेले सुरुदेखि नै निर्वाचन केन्द्रित कार्यक्रम गर्दै आएको हुँदा निर्वाचनको तयारीमा आफूहरू पहिलेदेखि नै लागिसकेका उनले बताए । अहिले हामी देशभर निर्वाचन केन्द्रित प्रशिक्षण र अभियान चलाइरहेका छौं र हामी जनताको विश्वास गरी मैदानमा उत्रिने पनि उनले बताए ।

त्यस्तै उनले विचार आदर्श केही नमिल्ने दलहरू बीचको गठबन्धन केबल सत्तामा बस्न र एमालेलाई रोक्नका लागि गरिएको दूषित गठबन्धन मात्रै भएको संज्ञा दिए । उनले भावना र विचार मिल्ने जो कुनै दलसँग आवश्यकताका आधारमा एमालेले चुनावी तालमेल गर्न सक्ने सम्भावना नकार्न नमिल्ने बताए । फरक प्रसङ्गमा उहाँले सर्वोच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशको भरमा चलाउनू दुर्भाग्यपूर्ण अवस्था मान्नुपर्ने तर्क गरे । ‘प्रधानन्यायाधीश सम्बन्धी महाअभियोग प्रस्ताव संसद्मा छ, तर त्यो अगाडि नबढेको भन्दै देशको प्रधानन्यायाधीश निलम्बनमा गएको अवस्था र सर्वोच्च अदालत कार्यवाहक न्यायाधीशले चलाउनु भनेको दुर्भाग्यपूर्ण भएको उनले बताए ।

यति लामो समयसम्म कार्यवाहक प्रधानन्यायाधीशले सर्वोच्च चलाउनु पनि गैर जिम्मेवारीपनको हद पार भएको उनले बताए । मुलुकको आर्थिक स्थिति गम्भीर अवस्थामा पुगेको भन्दै उनले कतै नेपाल श्रीलङ्काको बाटोतिर गइरहेका त छैन ? भनेर चिन्ता भएको बताए । त्यस्तै नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माका बारे छानबिन गर्न बनेको संसदीय एमालेले सिसिटिभी फुटेज मागेको भएपनि त्यो डिलिट गरिएको, फोन कल डिटेल र मोबाइल लोकेसन हेर्न रोक लगाउनुले थप प्रश्नहरू उब्जाएको उनले गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार