भारत र बंगलादेश फाइनलमा खेल्दै

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २० गते शुक्रवार

काठमाडौं :  साफ यू–२० च्याम्पियनसिप अन्तर्गत उपाधिका लागि फाइनलमा आयोजक तथा साविक विजेता भारत र बंगलादेश भिड्दैछन् । खेल आज साँझ ७ :  १५ बजे भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । बंगलादेश लिग विजेता बन्दै फाइनल प्रवेश गर्दा भारत दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । लिग चरणमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहयो । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो ।

नेपाल भने ४ खेलमा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहयो । माल्दिभ्स ४ खेलमा २ अंकसहित चौथो तथा १ अंक जोडेको श्रीलंका पुछारमा रहयो । समूह चरणको खेलमा बंगलादेशले भारतलाई पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यसयता भारतले लगातार तीन जित दर्ता गर्दै लय समातेको छ । बंगलादेश भने समूहको अन्तिम खेलमा नेपालसँग १–१ को बराबरीमा रोकिएको थियो ।

आजको खेलमा भारत समूह चरणको हारको बदला लिँदै उपाधि घरेलु भूमिमा राख्न चाहन्छ । दुवै टोलीले फाइनलमा एक– एक खेलाडीको साथ पाउने छैनन् । भारतका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका विंगर पार्थिव गोगोई खेलमा उपस्थित हुने छैनन् । माल्दिभ्सविरुद्ध खेलको अन्त्यतिर रेफ्रीविरुद्ध अपशब्द बोलेपछि उनले रातो कार्ड पाएका थिए । त्यस्तै बंगलादेशका साहिदुल इस्लामले नेपालविरुद्ध खेलमा झगडा हुँदा रातो कार्ड पाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार