जनताको समस्या समाधान गर्ने हाम्रो प्रमुख उद्देश्य हो : लामिछाने

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २० गते शुक्रवार


दाङ :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दैनिक जीवनमा भोग्नु परेको पीर, दुख र समस्यालाई समाधान गर्ने आफ्नो पार्टीको प्रमुख उद्देश्य भएको प्रष्ट पारे । शुक्रबार दाङको घोराहीमा पार्टीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले देशमा अहिले कुनै पनि काम गर्दा नागरिकहरूले निकै सास्ती र समस्या भोगिरहेको पनि उल्लेख गरे । उनले कुनै पनि काम गर्दा घन्टौँलाई बस्नु पर्ने, पैसा खुवाउनु पर्ने र चिनेको व्यक्ति चाहिने जस्ता कारणले जनताले निकै पीर दुख पाएको भन्दै त्यसलाई अन्त्य गर्ने आफ्नो पार्टीको मुख्य उद्देश्य रहेको पनि बताए ।

उनले भने,‘ एउटा परिचय पत्र, लाइसेन्स बनाउनको लागि रातभर लाइनमा बस्नु पर्छ । एउटा दलाललाई पैसा खुवाउनु पर्छ । एउटा ह्विलचेयरमा आएको व्यक्ति माथिल्लो तलामा सेवा लिन जानु पर्ने बाध्यता छ । तर, यस्ता काममा लागि आम नागरिक सामान्य तरिकाले सेवा लिन जाँदा सजिलै पाउँदैन । जसले भनसुन गर्दा, जसले पैसा दिन्छ । त्यसको काम छिट्टो हुन्छ । यस्ता समस्या अन्त्य गर्नु नै हाम्रो उद्देश्य हो ।’ उनले हरेक नागरिकहरूले यस्ता समस्याहरू भोग्दै आएको भएयता पनि अहिलेसम्म कुनै पनि पार्टीको मूल एजेण्डा नबनेको भन्दै आफूहरूका लागि मालिक जनता भएको र जनताको दैनिकीसँग जोडिएका मुद्दाहरू आफूहरूका लागि मूल मुद्दा भएको भन्दै यसबाट कुनै पनि विचलित नहुने पनि धारणा व्यक्त गरे ।

यस्तै अहिलेसम्म देशका पार्टीले जनतालाई दुख दिएर देशमा बस्न नदिएर विदेशी बाध्य बनाएको भन्दै त्यसलाई रोक्नको लागि आफ्नो पार्टी खडा भएर आएको पनि बताए । उनले भने,‘ जनतालाई दुख दिएर, जनतालाई देशमा बस्ने नदिएर एयरपोर्टमा पासपोर्ट बोकेर लाइन लाग्ने बनाएर कस्तो देश बनाउने खोजिएको हो ? त्यो हामीलाई थाहा छैन् । तर, त्यो सिलसिलालाई रोक्न हाम्रो पार्टी खडा भएर आएको छ ।’ यस्तै उनले आफ्नो पार्टीमा परिवारवाद र कुनै ब्यक्तिले पार्टीलाई यस्तो सहयोग गरेको थिए, भनेर कुनै नाता लगाएर भोलि हाम्रो पार्टी सत्तामा रहँदा फाइदा पुगोस्, भन्नेहरूलाई आफ्नो पार्टीको ढोका सधैँको लागि बन्द हुने पनि बताए ।

उनले भने,‘ हाम्रो पार्टीले अहिले यहाँ कोही उम्मेदवार बोकेको आएको छैन् । हामीले पोस्नु पर्ने मान्छे हाम्रो पार्टीमा छैन् । मलाई राजदूत बनाइदिन्छ, भनेर बस्ने मान्छेलाई हामीले पार्टीमा समावेश गरेका छैनौँ । ’ उनले कुनै पनि क्षमतावान व्यक्ति भएमा त्यसको पहिचान आफ्नो पार्टीले गर्ने र कुनै पनि पार्टीको विज्ञ आफ्नै नहुने भन्दे विज्ञ देशको हुने भएकाले आफ्नो खल्तीका व्यक्ति बोकेर नआएको पनि बताए । उनले जिल्लाको नेतृत्व गर्ने ब्यक्तिलाई आजको कार्यक्रममा सहभागी भएका व्यक्तिहरूले नै छान्न आग्रह गर्दै आफूहरू खल्तीमा ब्यक्तिहरू बोकेर टिका माला लगाउनको लागि नआएको पनि प्रष्ट पारे ।

उनले भने,‘ जिल्लाको नेतृत्व कसले गर्दछ, भन्ने कुरा तपाईँहरू नै छान्नुहोस् । जिल्लाको विकास गर्ने सक्ने भिजन हुनुपर्छ । उसँग कति पैसा छ । त्यो हामीलाई मतलब छैन् । तर, हाम्रो पार्टीको उम्मेदवारले जिल्ला बनाउने भिजन भएको हुनु पर्छ । ’ उनले भोलिका दिनमा आफ्नो पार्टी सत्तामा पुगेपछि आफ्नो नेता तथा मन्त्रीहरूले जनतालाई दुख दिएर आफ्नो स्वार्थ पुरा गरेको पाइएमा उनीहरूलाई टुँडिखेलमा लगेर सजाए दिने पनि बाचा गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार