समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न एकजुट हुन महासचिव पोखरेलको आह्वान

३०० बढि एमालेमा प्रवेश
Author Logo..
अनलाइन राप्ती २०७९ साउन १९ गते बिहिवार

दाङ :  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित अभियान कार्यक्रमलाई तीब्र बनाउँदै लगेको छ । जिल्लादेखि केन्द्रीय तहका नेताहरू चुनावी अभियानमा होमिएका छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न एमालेले पार्टी प्रशिक्षण र प्रवेश कार्यक्रमलाई तीब्र बनाएको छ । यसैक्रममा नेकपा एमाले दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका पार्टी परित्याग गरेर र केही स्वतन्त्र गरी ३०१ जनालाई एमाले महासचिव शंकर पोख्रेलले पार्टी प्रवेश गराएका हुन ।

माओवादी केन्द्र दाङका पूर्व जिल्ला इन्चार्ज जीवन गौतमको सक्रियतामा माओवादी केन्द्रका जिल्ला सदस्यसहित   २५१ जना, नेपाली कांग्रेसबाट ९० जना र राप्रपाका प्रदेश सदस्यसहित  १० जना एमाले प्रवेश गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रका जिल्ला सदस्यहरू सरस्वती नेपाली, राजेशकुमार आचार्य, तेजप्रसाद भुसाल, डम्बरबहादुर डाँगी, गोपाल भुसाल, निरजकुमार चौधरी, सोमप्रसाद चौधरीसहित जिल्लाका विभिन्न स्थानका २५१ जनाले एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै नेपाली कांग्रेस निकट किसान संघ दाङका पूर्व अध्यक्ष डिल्ली चौधरी, नेताहरू शरद बुढाथोकी, बमबहादुर डिसीको नेतृत्वमा ९० जना र राप्रपा का प्रदेश सदस्य प्याउली केसीको नेतृत्वमा १० जना एमाले प्रवेश गरेको नेकपा एमालेकी केन्द्रिय सदस्य साजिदा सिद्धिकिले बताइन । उनका अनुसार केही स्वतन्त्र रुपमा रहेकाहरू पनि एमालेमा प्रवेश गरेका हुन । स्वतन्त्र रुपमा रहेकी सलिना न्यौपाने सहितका नागरिकले एमाले पार्टी रोजेका हुन । देशलाई नेतृत्व गर्न अव युवाहरूको खाँचो भएको र त्यो नेकपा एमालेबाट मात्र सम्भव भएको भन्दै आफूहरू नेकपा एमालेमा प्रवेश गरेको न्यौपानेले बताइन ।

आफूहरू यो भन्दा अगाडि कुनै पार्टीमा नरहेको र राजनीतिक तवरले हेर्दा नेकपा एमालेबाट नै देशको भविष्य देखेको हुनाले आफूहरु  एमालेमा प्रवेश गरेको बताइन । साथै उनी पार्टीले दिएको जिम्मेवारी इमानदारी पूर्वक पुरा गर्ने पनि बताएकी छिन । जिल्ला पार्टी कार्यालय घोराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन ।

एमालेले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निष्कर्षमा पुग्न नदिन सबै लागिपरेको भन्दै महासचिव पोखरेलले मुलुकको हित नचाहने पक्षलाई जनादेशकै बलमा असफल बनाउने बताएका हुन । मुलुकमा राजनीतिक ध्रुवीकरण आवश्यक रहेको भन्दै महासचिव पोखरेलले एमालेको नीति र बिचारलाई आत्मसात गर्ने पार्टीसँग चुनावी तालमेल हुने बताए । सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरिसकेको अवस्थामा चुनाव केन्द्रीत अभियानमा जुट्न सबै नेता कार्यकर्ताहरुलाई महासचिव पोखरेलले निर्देशन समेत दिएका छन ।

नेकपा एमाले दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज नरुलाल चौधरी, एमाले नेता जीवन गौतमलगायतका नेताहरुले सम्बोधन गरेका थिए । जिल्ला उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार