बंगलादेशसँग बराबरीमा रोकिएको नेपाल

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १७ गते मङ्गलवार

काठमाडौं : लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपालको यू–२० साफ च्याम्पियनसिपको यात्रा माल्दिभ्सको हातमा पुगेको छ । बराबरीपछि बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपालको यात्रा भने माल्दिभ्सको हातमा पुगेको हो । आजै दोस्रो खेलमा माल्दिभ्सले साविक विजेता भारतसँग खेल्नेछ । माल्दिभ्सले भारतलाई हराइदिएमात्र नेपालले फाइनलमा स्थान बनाउनेछ । नेपाल ७ अंकका साथ दोस्रो स्थानमा छ । भारतले माल्दिभ्सलाई जितेमा ९ अंक हुनेछ र फाइनलमा स्थान बनाउनेछ । बंगलादेशले १० अंक बनाउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगितामा अपराजित रहने बंगलादेश एक्लो टिम हो ।  बंगलादेशले भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा ६४औँ मिनेटमा अग्रता लिएको थियो । बंगलादेशले मोहम्मद पिएश अहमद नोभाले गरेको गोलबाट अग्रता लिएको हो । नोभाले मोहम्मद रफिकुल स्लामको ब्याक पासलाई पोस्टको दिशा दिएका हुन् । नेपालले ६८औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । नेपालका निरञ्जन मल्लले गोल गरेका हुन् ।

४७औँ मिनेटमा कृतिशरत्न छुन्जुलाई बंगलादेशका कप्तान तानबिर होसैनले फाउल गरेपछि दुई टोलीबीच एकछिन झडप भएको थियो । त्यसपछि रेफ्री सिनान हुसैनले नेपालका दीपेश गुरुङ र बंगलादेशका शहिदुल इस्लामलाई रातो कार्डको दर्शन गराएका थिए । नेपालको बेन्चमा रहेका रोहित सुब्बाले पनि रातो कार्डको सामना गरेका थिए ।

त्यसअघि ३४औँ मिनेटमा दीपेश गुरुङको सुन्दर फ्रीकिकलाई बंगलादेशका गोलकिपर मोहम्मद आसिफले मुश्किलले पञ्च गरेर बाहिर पठाइदिएका थिए । शाहिदुल इस्लामले कप्तान आयुष घलानलाई फाउल गरेपछि नेपालले फ्रीकिकको अवसर पाएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार