दंगीशरणले  वडाबाटै सामाजिक सुरक्षा भत्ता दिन  शुरु

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १६ गते सोमवार

दाङ :   सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नुपरेको जनगुनासो बढिरहेका बेला दाङको दंगीशरण गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हो । गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात सोमबार वडा न १ देखि शुरु गरेको छ ।  सोमबार एक औपचारिक कार्यक्रमका बिच पालिका अध्यक्ष शम्भु गिरी, प्रमुख पिमा  खड्का, प्रशासकीय अधिकृत अमर बहादुर वली, वडा न १ का वडाध्यक्ष रमेश भण्डारीलगायतले भत्ता वितरण गरि सामाजिक सुरक्षा भत्ताको औपचारिक शुभारम्भ गरेका हुन् ।

 बैंकिङ प्रणालीमार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको थप सहजताका साथै नव निर्वाचित अध्यक्ष शम्भु गिरीले चुनावी प्रतिवद्धता गरे अनुसार गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्ती स्तरमै पुर्‍याएर वितरण गर्ने प्रबन्ध मिलाइएको पालिका अध्यक्ष गिरीले बताए ।  ३ र ४ न वडा बैंकको नजिकको  दूरीमा रहेकाले ५ वटा वडाका लाभग्राहीको नेपाल कमर्स एण्ड क्रेडिट ( एनसीसी )  बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको र वडा न १ को भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ हुने र घन्टौँ लाइन बस्नु पर्ने भएपछि बैंकका कर्मचारीलाई बस्ती स्तरमा पुर्‍याएर  वितरण गर्न थालिएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताए ।

गाउँबस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले बेहोर्ने जनाएको छ ।  गाउँपालिकाले कार्यतालिका नै बनाएर आजदेखि वडा न १ बाट गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए । उनका अनुसार आज वडा न १ को बाँकीमा १७ गते वडा न २ को कौवाघारीमा, २५ गते वडा न ५ को नन्द्रागाउँ ,१९ र २० गते वडा न ६ को श्रीगाउँमा  ,२२ र २३ गते वडा न ७ को  श्रीगाउँमा  ,२९ र ३० गते वडा न ३ का लागि  एनसीसी  बैंक  बैवाङबाट , र वडा न ४ का लागि बैंकले अग्रिम रुपमा जानकारी गराउने कार्य तालिका रहेको प्रमुख प्रशासकीय अधिकृत  वलीले जानकारी दिए ।

यस्तै वडा न १ का वडाध्यक्ष भण्डारीले हेकुली  रहेको बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकोमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारी जनप्रतिनिधि र सुरक्षा निकायको रोहबरमा वडामै पुगेर भत्ता वितरण गरिएको बताए । आफूहरू चुनाबका बेला पनि सामाजिक सुरक्षा भत्ता गाउँ  गाउँमै पुगेर बाढ्ने  प्रतिबद्धता गरे अनुसार ज्येष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा बाट बाढ्ने निर्णय  गरेको बताए । वडा न १ का २११ लाभग्राहीलाई वडाबाटै सहज तवरले भत्ता वितरण गरिएको एनसीसी  बैंक हेकुली शाखाका प्रमुख एकराज केसीले जानकारी दिए ।

पालिकाबाट हुने हरेक काम कुराहरूलाई बैंक सँग जोडेर पालिकाको हरेक काममा साथ दिने समेत प्रतिबद्धता व्यक्त गरे ।  गाउँपालिकाले बैंकको  पहुँचदेखि  टाढा रहेका ५ वटा वडामा गाउँमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको छ । ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय,  एकल महिला लगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उहाँहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार