दाङमा हरेक वर्ष औसतमा विपद्का कारण २७८ घरहरू प्रभावित

Author Logo..
विकास डाँगी २०७९ साउन १४ गते शनिवार

दाङ :   जिल्लामा हरेक वर्ष औसतमा १४० घर बाढी कारण प्रभावित हुने गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार आगलागीका कारण ९८ वटा घर र हावाहुरी, भारी वर्षा, चटयाङ लगायत कारणबाट ४० घर हरेक वर्ष औसतमा प्रभावित हुने गरेका छन् । बितेको  १० जिल्लामा सबै भन्दा बढि बाढी कारण घरहरूमा प्रभावित भएको छ । २०६९ सालदेखि २०७९ असारसम्म  १४०१ वटा घर प्रभावित भएको केन्द्रका सूचना अधिकारी   विनायक पौडेलले जानकारी दिए ।

यस्तै उनका अनुसार आगलागीबाट ९८४ वटा घर र हावाहुरी, भारी वर्षा, चटयाङ लगायत कारणबाट ४०४ गरी २ हजार ७८९ घर प्रभावित भएका छन् । आर्थिक वर्ष २०६९/ ७० मा बाढीबाट ८ वटा र आगलागीबाट १०४, आव २०७०/७१ म बाढीका कारण ८ वटा, आगलागीबाट १७३, आव २०७१÷७२ मा बाढीका कारण ५९३ वटा, आगलागीबाट १८० घर प्रभावित भएको केन्द्रले दिएको तथ्यांकमा उल्लेख छ । यस्तै आव २०७२/ ७३ मा बाढीबाट ४८, आगलागीबाट ११८, आव २०७३/ ७४ मा बाढीका कारण २८ वटा, आगलागीबाट ५ वटा, आव २०७४/ ७५ मा बाढीका कारण ६४१ वटा, आगलागीबाट ७८ वटा, आव २०७५/ ७६ मा बाढीबाट १ वटा, आगलागीबाट ६९ वटा घरहरूमा क्षति भएको केन्द्रले जनाएको छ ।

यस्तै आव २०७६/ ७७ मा बाढीका कारण १० वटा, आगलागीबाट ६९ वटा, आव २०७७/ ७८ मा बाढीबाट ४ वटा, आगलागीबाट ५ वटा घटनाहरू भएका थिए ।   यस्तै गत आर्थिक वर्षमा मात्र  ८ जनाले ज्यान गुमाएका छन् । २ सय बढी घर परिवार प्रभावित भएका छन् । आगलागी, हावाहुरी, चट्याङ , बाढी, सर्पदंश लगायतका विभिन्न प्राकृतिक विपद्का ७५ घटनामा ८ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ८ जना मध्य आगलागीमा परेर ५ जना, सर्पदंशका कारण २ जना र चट्याङका कारण १  जनाको मृत्यु भएको छ ।

विपद्का विभिन्न  घटनाहरूका ५ जना घाइते भएका थिए । जसमा चट्याङ लागेर ३ जना, सर्पदंश र करेन्ट लागेर १/१ जना घाइते भएको केन्द्रले जनाएको छ । एक वर्षको अवधिमा भएका ७५ घट्नामा २०३ परिवार प्रभावित भएका केन्द्रले जनाएको छ ।  यस्तै बितेको १० वर्षमा विपदका कारण जिल्लामा १३८ जनाको मृत्यु भएको छ । यस्तै  विगत वर्षहरू भन्दा गत आर्थिक वर्ष बिपद्का कारण हुने क्षतिको अनुपात केही बढी भएपनि  मानवीय क्षतिमा कमी भएको केन्द्रका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

गत बैशाखदेखि असारसम्म विपद्का ४७ घटना गत  बैशाखदेखि असार महिनासम्म जिल्लामा विपदका कारण ४७ वटा घर पूर्ण रूपले क्षति भएका छ । केन्द्रका अनुसार आगलागीबाट १५ वटा, चट्याङबाट २ वटा, हावाहुरीका कारण २५ वटा , भारी वर्षाका कारण ४ वटा र करेन्ट लागेर १ वटा गरी ४७ वटा घरमा पूर्णरुपमा क्षति भएको छ ।

   बितेको १० वर्षमा सबै भन्दा तुलसीपुरमा प्रभावित

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार बाढी, आगलागी, हावाहुरी,  चटयाङ लगायत विपदबाट तुलसीपुर उपमहानगरमा ८३८ घरधुरी प्रभावित भएका छन् । त्यस्तै घोराही उपमहानगरमा ३६९, लमही नगरपालिकामा १८३, राजपुर गाउँपालिकामा २०३, गढवा गाउँपालिकामा १५३, राप्ती गाउँपालिकामा १२९, बंगलाचुली गाउँपालिकामा १२७, बबई गाउँपालिकामा ३५०, शान्तिनगर गाउँपालिकामा १५६ र दंगीशरण गाउँपालिकामा २४५ घरधुरी प्रभावित भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

 विपद्को तयारीमा छौँ :  प्रजिअ रेग्मी

जिल्लामा  विशेषगरी देउखुरी क्षेत्रमा डुबान र बाढीको जोखिम रहेको छ, भने पहाडी क्षेत्रमा पर्ने पहिरोको जोखिम रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा सबै भन्दा बढि बाढी र पहिरोको मुख्य प्रभाव हुने उनले बताए । उनले अहिलेसम्म जिल्लामा कम मात्रामा पानी परेको हुनाले कुनै पनि त्यस्तो प्रभाव नपरेको पनि बताए । उनले अहिलेसम्म कुनै प्रभाव नपरेको भएयता पनि आफूहरू विपद्को पूर्व तयारीमा रहेको पनि उल्लेख गरे ।

उनले भने,‘ बाढी पहिरोको कारण सडकहरू बन्द हुने अवस्थामा आएमा  सडक विभाग, सडक कार्यालयमा जेसीबी, स्काभेटर रू तयारी अवस्थामा राखेका छौँ ।  सुरक्षाकर्मीहरूलाई विपद्मा तत्काल उद्धार गर्नको लागि दक्ष जनशक्तिसहित तयारी अवस्थामा राखेका छौँ । विपद्मा बच्नको नमुना, कृत्रिम अभ्यासहरू प्रदर्शन गरिएको छ । ’

यस्तै जिल्लाका सबै स्थानीय तहका प्रमुखहरूसँग जिल्ला विपद् व्यवस्थापन समितिसँग बैठकहरू पटक पटक भएको र त्यस बैठकबाट जनचेतना अभिवृद्धि गर्ने, आवश्यक पर्ने स्रोत साधनहरू व्यवस्थापन गर्ने, स्थानीय विपद् समितिलाई विपद्बाट हुनसक्ने बस्तु स्थितिको पहिचान गर्न  लगाउने जस्ता निर्णयहरू भएको पनि उनको भनाइ छ ।

उनका अनुसार विशेष गरी राप्ती, गढवा र राजपुर गाउँपालिकामा चुरेक्षेत्रबाट आउने खहरे खोलाहरू धेरै भएका कारण पानी परेपछि ति खोलाहरू उर्लिएर आउने र त्यसले  बालीनाली लगायत बस्ती डुबान गर्ने गर्दछन् । त्यस्तो विपद्बाट बच्नको लागि खोलामा रहेका ढुंगा गिट्टीहरूलाई पन्छाउने लगायत अन्य तयारी अवस्थामा आफूहरू रहेको समेत उनले बताए । उनले जिल्लामा कुनै पनि विपद्को  समस्या परेमा स्थानीय सरकार, यहाँका नागरिक,  सुरक्षाकर्मी, विपद् व्यवस्थापन समिति लगायत जिल्ला मनसुन विपद् प्रतिकार्य आयोजनाहरू नै सबै तयारीमा नै  रहेको बताए ।

घोराहीले जोखिम क्षेत्रमा सूचना प्रवाह गर्दै

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उपमहानगरले विपद् जोखिम न्यूनिकरण गर्नको लागि जोखिमको सम्भावित क्षेत्रमा सूचना प्रवाह गर्ने काम गरेको बताए । कुनै पनि  ठाउँमा विपदको  समस्या भएमा त्यहाँका नागरिकहरूलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने समेत उनको भनाइ थियो । उनले भने,‘ खोलाले  क्षति पु–याउने ठाउँमा जेसीबी पठाएर  पानी ढल्काउने काम गरेका छौँ । त्यस्तै बाढी, पहिरो र डुबान जस्ता ठाउँका नागरिकहरूलाई सुरक्षित  ठाउँमा व्यवस्थापन गर्न हामी लागि रहेका छौँ ।’

यस्तै उनले घोराही उपमहानगरको पहाडी क्षेत्र पहिरोको जोखिम रहेको र डुबानको हिसाबले घोराही बजारसहित तल्लो क्षेत्र रहेको पनि बताए ।
यस्तै घोराहीमा बबई नदि, हापुर  खोला, गुर्जे खोला, सेवार खोला कटुवा खोला जस्ता खोलाहरूले जमिन कटान गर्ने भएकाले जोखिम रहेको उनले बताए । उनले भने,‘ यि  खोलाको कटानबाट धनजनको क्षति भन्दा पनि उत्पादन हुने जमिन कटान हुने गर्दछ । त्यसका लागि पनि हामीले काम गरेका छौँ ।’

यस्तै उनले घोराहीमा १४ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछाडि कटुवा खोलाको नजिकै बस्तीहरू रहेको र त्यो अलि जोखिम रहेको  पनि बताए । त्यसका लागि घोराही उपमहानगरले तटबन्ध गर्न, जाली लगाउने काम गरेर बस्तीलाई सुरक्षित गर्ने काम गरेको पनि उनको भनाइ थियो ।

तुलसीपुरको सबैभन्दा जोखिम पातुखोला बस्ती

तुलसीपुर उपमहानगरपालिका बन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले जोखिमका क्षेत्रले  हेर्दा पातुखोलाको बस्ती बढि रहेको बताए । उनले तुलसीपुर ५, ६ र ९ मा पर्ने खोलाका बस्तीहरू धेरै जोखिम रहेको बताए । उनका अनुसार त्यो बस्तीमा जति बेला जे पनि हुनसक्ने छ ।  खोला वरपर बस्तीहरू बसेको र खोला सानो र साँघुरो हुँदा खोलाको मुहानमा धेरै पानी परेमा ठुलो बाढी आएमा क्षति हुनसक्छ ।
उपमहानगर र प्रदेश सरकारले पातुखोला क्षेत्रमा बाढीबाट बच्नको लागि  तटबन्ध गरेको पनि उनले बताए ।

यस्तै तुलसीपुर १३ को बखरिया क्षेत्र पनि बबई नदिका कारण जोखिममा रहेको उनले बताए । केही वर्षपहिले उक्त ठाउँमा बाढी आउँदा  पुरै गाउँ डुबानमा परेको पनि उनले बताए ।  यस्तै वडा नं. १, ३, १९ वडाहरू  पहिरोको जोखिम रहेको र  ७, १४,१६, १८ नम्बर वडाहरू खोलाहरूको कटान क्षेत्र रहेको पनि बताए ।  तुलसीपुरमा विपद्को तयारी गरिरहेको बताए । यस्तै सरकारी संस्था, सुरक्षाकर्मी, गैरसरकारी संस्थाहरूसँग समन्वय गरेर विपद्को तयारी गरेको पनि उनको भनाइ थियो ।तुलसीपुर उपमहानगरले विपद् शाखा व्यवस्थित रुपमा सञ्चालनमा रहेको र त्यहाँ विपद्मा उद्धारका लागि सामाग्रीहरू रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार