माग पूरा नभए आन्दोलनमा गर्ने मुक्त कमलहरीहरूको चेतावनी

Author Logo..
अनलाइन राप्ती २०७९ असार १३ गते सोमवार

दाङ :   सोमबार ९ औँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाइएको छ । सरकारले २०७० साल असार १३ गते आजकै दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो । सोही दिनको अवसर पारेर मुक्त कमलरीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउँदै आएका थिए । तर यस वर्ष भने मुक्त कमलरीहरुले  विरोधात्मक रुपमा दिवस मनाएका छन् । २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमलरी र सरकारबीच १० बुँदे सहमति भएको थियो । 

उक्त सहमति अझैसम्म पनि कार्यन्वयन नभएको भन्दै यस वर्ष मुक्त कमलरी विकास मञ्च दाङले दिवस विरोधात्मक रुपमा मनाएको हो ।  दासताको जंजिर तोडेर मानवीय जीवन बाँच्न खोजेको लामो समय भई सक्दा पनि खोक्रो आश्वासन पाउनु बाहेक केही हुन नसकेको भन्दै आफूहरूको उचित व्यवस्थापन हुनु पर्ने माग उनीहरूले बारम्बार उठाउँदै आएका छन् ।मञ्चले आयोजना गरेको विरोध  र्‍यालीले घोराही बजार परिक्रममा गरेको थियो । ट्राफिक चोकबाट सुरु भएको   र्‍याली  सहिद गेट हुँदै जिल्ला समन्वय समिति रोडबाट जिल्ला प्रशासन र त्यसपछि घोराही चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

 र्‍यालीमा सहभागीहरूले छुट कमलरीको तथ्यांकमा समावेश गर, सीपमुलक तालिमको व्यवस्था गर, छात्रावासमा खानाको व्यवस्था गर, रोजगारीको सुनिश्चितता गर, कमलरी मुक्ति दिवस सफल पारौँ लगायत नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै मुक्त कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले सरकारका कारण अहिले मुक्त कमलरीले दिवसलाई उत्सवका रुपमा मनाउन नसकेको बताइन्  ।

उनले सरकारसँग भएको १० बुँदे मध्ये तीन बुँदा मात्र कार्यान्वयनको चरणमा रहेको अन्य ७ बुँदाहरू अझै पनि कार्यान्वयनका लागि सरकार मौन रहेको भन्दै यसलाई कार्यान्वयन गर्न माग समेत गरिन् । हालसम्म ४ हजार ९३४ जना मुक्त कमलरीले परिचय पत्र पाएपनि ७ हजार ८३५ जना परिचय पत्र पाउनबाट वञ्चित हुँदा अनेकन समस्या भोग्न बाध्य भएको उनीहरूको भनाई थियो । 

लावाजुनी छात्रावासमा बसेर बढ्दै गरेका १७ जनालाई विशेष गरी पढ्न समस्या भइरहेको छ । ३६ जना बस्दै आएको छात्रावासमा १९ जनाले छात्रवृत्तिबाट आफ्नो खर्च धान्न बाध्य भएका छन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा गरी २७७ जना मुक्त कमलरीहरूलाई उच्च शिक्षामा समस्या भइरहेको छ ।  मुक्त कमलरी विकास मञ्चका अनुसार १२ हजार ६ सय ६९ जना मुक्त कमलरी सदस्य संख्या रहेको छ । जसमा सबैभन्दा धेरै दाङका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार