गुरुकुलका विद्यार्थीद्वारा खाद्यान्न सहयोग

Author Logo..
अनलाइन राप्ती २०७९ असार १३ गते सोमवार

दाङ :  घोराही उपमहानगरपालिका १५ रतनपुरमा रहेको  गुरुकुल एकेडेमीमा कक्षा ११ को व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले एकदिने बजारमा सामान बिक्री गर्दा बचत भएको नाफा रकमबाट अशक्त एवं मानसिक अपांगता भएका व्यक्ति लागि खाद्यान्न सहयोग गरेका छन् ।

घोराही उपमहानगरपालिका ३ मोहननगरस्थित प्रेरणाका लागि अभियान नेपालमा बस्दै आएका मनस्थिति बिग्रिएका व्यक्तिहरूका लागि करिव दश हजार बढी मूल्यको खाद्यान्न सहयोग गरेका हुन । कक्षा ११ को व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीले ३९ हजार रुपैयाँ लगानी गरेर एक दिन बजारमा खाद्यवस्तु बेच्दा नाफा हुन आएको करिव ७ हजार ९३० र लियो क्लब अफ गुरुकुलले सहयोग गरेको २ हजार ३६० गरेर जम्मा दश हजार २९० रुपैयाँ बराबरको खाद्यान्न प्रेरणाका लागि अभियान नेपाललाई सहयोग गरेका हुन ।

सोमवार एक कार्यक्रमको आयोजना गरि चामल, दाल, तेललगायतका सामग्री प्रेरणाका लागि अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्साललाई शिक्षक तथा विद्यार्थीले हस्तान्तरण गरेका थिए । विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यले रचनात्मक कार्य गरिएको गुरुकुल एकेडेमीका प्लसटु संयोजक निमानन्द गैरेले बताए । विद्यालयमा अध्ययनसँगै  व्यवसायिक पक्षको ज्ञानले विद्यार्थीलाई व्यवसायसँगै श्रमको महत्व बारेमा ज्ञान दिएको संयोजक गैरेको भनाई छ ।

‘विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले एक दिन घोराही बजारमा खाद्यान्न सामग्री बेच्न लगाएका थियौं’, संयोजक गैरेले भने,‘ जस अनुसार विद्यार्थीले घोराहीका विभिन्न चोकहरूमा मकै, चटपटे, पानीपुरी, आइक्रिम लगायतका सामग्री बेचेका थिए । त्यहीबाट आएको नाफाले आज सहयोग गरेका हुन ।’ संयोजक गैरेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा दिनका लागि आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार