दाङमा ३१ जना कैदीबन्दी कारागार मुक्त

Author Logo..
अनलाइन राप्ती २०७९ जेष्ठ १५ गते आइतवार


दाङ :  गणतन्त्र दिवसको अवसरमा जिल्लाका २ कारागारबाट ३१ जना कैदीबन्दीको बाँकी कैद मिनाहा भएको छ । कारागार घोराही र कारागार तुलसीपुरबाट ३१ जना कैदबन्दीको बाँकी कैद मिनाहा गरिएको हो । घोराहीबाट ४० र ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १० जनाको नाम सिफारिस भएकोमा ९ जनाको स्वीकृत भए अनुसार उनीहरूलाई कारागार मुक्त गरिएको जेलर बासुदेव खनालले जानकारी दिए । जसमा दुई जना भारतीय नागरिक रहेका छन् ।

उनका अनुसार कर्तव्य ज्यानका ५ जना, डाँका चोरी तथा नकबजनीका १ जना, सवारी ज्यानका १ जना र हातहतियार खरखजना सम्बन्धी २ जना कैदीबन्दीको बाँकी कैद मिनाहा भएको हो । घोराही कारागारमा अब ३०० जना कैदीबन्दी रहेको पनि उनले जानकारी दिए ।

यस्तै कारागार कार्यालय तुलसीपुरबाट २२ जना कैदीबन्दीको बाँकी कैद मिनाहा भएको छ । जसमा ४० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका ८ र ५० प्रतिशत कैद भुक्तान पुरा गरेका र असल चालचलन भएका १४ जना कारागार मुक्त भएका छन् ।

जेलर अम्मर वलीका अनुसार कर्तव्य ज्यानका ७ जना, डाँका चोरीका ३ जना, गौबधका ३ जना, सवारी ज्यानका ३ पुरुष, ज्यान मार्ने उद्योगका ४ जना र डाँका चोरी तथा नकबजनी चोरी २ जनाको बाँकी कैद मिनाहा भएको हो । तुलसीपुरमा अब ५ सय ५० जना कैदीबन्दी रहेको जेलर वलीले जानकारी दिए । सरकारले हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा मापदण्डको आधारमा कैदीबन्दीहरूको बाँकी कैद सजायमा आम माफी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार