टरिगाउँ एयरपोर्टमा आयो जहाजमा तेल भर्ने ब्राउजर

Author Logo..
अनलाइन राप्ती २०७९ जेष्ठ १५ गते आइतवार

दाङ :  दाङको टरिगाउँ एयरपोर्टमा ब्राउजर आइपुगेको छ । जहाजमा हवाई इन्धन भर्नका लागि ११ हजार लिटर क्षमताको ब्राउजर काठमाडौँबाट बुधबार टरिगाउँ एयरपोर्टमा आएको इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन कुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी २० हजार लिटर हवाइ इन्धन  ( एटीएफ) पनि नेपालगञ्जबाट ल्याएर तयारी अवस्थामा राखिएको छ । हवाइ इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेपछि जहाजमा इन्धन भर्नका लागि ब्राउजर ल्याइएको हो । हिजो आज ३० हजार लिटर क्षमताको ट्याङ्कलाई फाउण्डेसनमा राखेर फिटिङको काम भइरहेको छ । स्टोरेज ट्याङ्कको फिटिङ मुम्बईबाट आएको प्राविधिक टोलीले गरिरहेको छ ।

‘११ हजार लिटर क्षमताको ब्राउजर काठमाडौँबाट आएको छ । प्लेनमा भर्नका लागि २० हजार लिटर एटीएफ ( हवाइ इन्धन ) नेपालगञ्जबाट आएर तयारी अवस्थामा राखिएको छ । ब्यान्डेड ट्याङ्क फिटिङ लगत्तै परीक्षण हुन्छ । त्यसपछि प्लेनमा फ्यूल रिफ्युलिङ गर्छौ ।’ इन्धन डिपो प्रमुख श्रेष्ठले भने  ।

अहिले पार्किङका लागि र प्रशासनिक भवनका लागि ट्रस्ट निर्माण भइसकेको छ भने वालको काम पनि सँगसँगै भइरहेको छ । २०७९ असार मसान्तसम्म निर्माण कार्य पुरा गर्नेगरी ड्रागन- एनसी- फाल्गुनान्द जेभिले २०७८ साउन ३ गते निर्माणको काम मात्रै डेढ करोड लागतमा निगमसँग सम्झौता गरेको थियो ।

स्टोरेज टयाङ्की, ब्राउजर र निर्माणको काम भ्याटसहित ४ करोड भएपनि दुई करोड ५० लाख मूल्य बराबरको स्टोरेज टयाङ्की र ब्राउजर खरिद गरिसकिएको छ । हवाई इन्धन डिपो नहुँदा काठमाडौँ– दाङ र दाङ काठमाडौँका लागि उडान भर्ने विमानले यात्रु बस्ने ठाउँमा इन्धन राखेर ल्याउने गरेको छ ।

जसका कारण जहाजले सिट भन्दा कम यात्रु बोक्ने गरेको छ । लामो समयदेखि अवरुद्ध हवाई सेवालाई सुचारु गराउनु भएका तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेको पहलमा इन्धन डिपोको काम सुरु भएको हो । नगर प्रमुख पाण्डेकै पहलमा नेपाल वायुसेवा निगमले ७ कठ्ठा जग्गा उपलब्ध गराएपछि हवाई इन्धन डिपोको काम अघि बढेको हो ।

यता तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले इन्धन डिपो सुचारु भएमा यात्रु बोक्ने ठाउँमा इन्धन बोक्नुपर्ने समस्याको अन्त्य हुने र ठूला जहाजले पनि उडान भर्ने भएकाले यस क्षेत्रका नागरिकले सहज रुपमा हवाई सेवा पाउने बताए ।

ब्राउजर आएपछि दाङवासीमा अब ठूला जहाज पनि आउँछन् भन्ने अपेक्षा पलाएको भन्दै समस्याको रुपमा देखिएको धावन मार्गको पनि छिटै विस्तार गरिने अध्यक्ष चालिसे ​​​​​​​बताए  । हवाई उडानको दृष्टिकोणले दाङको टरिगाउँ एयरपोर्ट नेपालगन्ज भन्दा सुरक्षित  मानिन्छ । २०११ सालमा स्थापना भएको टरिगाउँ विमान स्थलमा हिजोआज वायुसेवा निगमको विमानले हप्तामा ५ दिन उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार