तुलसीपुर-१७ मा बुवाको मृत्युपछि एमालेले बनायो छोरालाई वडाध्यक्ष उम्मेदवार

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २८ गते बुधवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका-१७ का २८ वर्षीय प्रदीप चौधरीले आफू वडाध्यक्षको उम्मेदवार बन्नु पर्ला भनेर कल्पना पनि गरेका थिएनन्। भविष्यमा यही काम गर्छु वा यही बन्छु भन्नेसम्म उनले नसोचेको बताए। एकाएक उनको जीवनमा नसोचेकै भइदियो।

नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका उनका बुवा ५३ बर्षीय लबरु चौधरीको उपचारका क्रममा निर्वाचन आउनुभन्दा तीन दिनअगाडि काठमाडौंमा उपचारका क्रममा मृत्यु भयो। त्यसभन्दा पहिले लबरुले कहिलै केही स्वास्थ्य समस्या भएको कुरा परिवारमा कहिल्यै व्यक्त गरेका थिएनन्।

‘बुवाले हामीलाई कहिल्यै केही भन्नुभएन र रोग आफ्नो मुटुमा राखेर रात दिन पार्टीका लागि खट्नुभयो,’ प्रदीपले भने, ‘हामीले तपाईं किन औषधी गर्नु हुन्न भन्दा मलाई केही भएको छैन भन्दै सधैँ टार्नुभयो।’

बुवा लबरु कुन रोगको बिरामी थिए भन्नेबारे समेत आफूले यसअघि केही थाहा नपाएको प्रदीपले बताए। चिकित्सकले भने कलेजो र मिर्गौलाको समस्याका कारण उनको मृत्यु भएको जानकारी दिएका थिए।

बुवा लबरु बिरामी भएपछि उपचारका लागि नेपालगन्ज हुँदै काठमाडौं लैजाँदासम्म छोरा प्रदीप साथमै थिए।

शव मंगलबार बेलुका साढे ७ बजेतिर मात्रै घर ल्याई पुर्‍याए। स्थानीय खोलामा आफ्नो जातीय परम्परा अनुसार अन्तिम संस्कार गरे। नेकपा एमालेले सहानुभूति मत बटुल्ने सोचले प्रदीपलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो। एकातिर बुवा बितेको शोक र अर्कोतिर निर्वाचनमा भिड्नु पर्ने बाध्यता प्रदीपको जीवनमा आइलाग्यो।

कहीँ-कतै जाँदा ढिला गरे बुवाले सधैँ बाबु कहाँ छस् भनेर फोन सम्पर्क गर्थे। र यसअघिका वडा सदस्यमा निर्वाचित बुवा लबरु ढिला भए छोरा प्रदीपले खोजी-नीति गर्थे। प्रदीपकै शब्दमा उनका बुवा गाउँघरका लागि एउटा इमान्दार स्वयंसेवक जस्तै थिए। जसले रातदिन जनताको सेवामा बिताए।

‘हामी सानो छँदा बुवाले बेस संस्थामा काम गर्नुहुन्थ्यो,’ प्रदीपले भने, ‘हामीलाई बुवाले कहिल्यै पिटेको वा गाली गरेको थाहा छैन।’

यसपटक बुवाले वडाध्यक्षको टिकट पाएपछि प्रदीपले पनि बुवाको तस्बिर छातीमा राखेर गाउँ घरमा भोट माग्दै हिँडेका थिए। परिस्थितिले आज बुवाको शेषपछि उनै त्यही ठाउँमा उभिनु परेको छ।

स्थानीय दूधरास विद्यालयमा कक्षा १२ पढ्दापढ्दै प्रदीपले पढाई छोडेका प्रदीपले बुवाको सपना सार्थक पार्न आफू वडाध्यक्षको उम्मेदवार बनेको बताए। घरमा खेती किसानी गरेर प्रदीपले सघाउँदै आएका थिए।

थारू समुदायमा मृत्यु संस्कार दिन/बार अनुसार हुने गर्छ। सोमबार र बिहीबार परे तीन दिनमै पनि चोखीनिधिको कार्यक्रम हुन्छ। मृत्यु संस्कारमा किरिया पुत्रीले मात्रै सबै बार्ने गर्छन। घरका अरू सदस्य  तेल, नुन, बेसार र दाल खाँदैनन्। चोखीनिधिका दिन माछा, संगुरको मासु, रक्सी पनि अनिवार्य मानिन्छ। बुवा बित्दा किरिया पुत्रीले दहीसँग एक छाक भात खान्छन् भने आमा बित्दा दूध भात खान्छन्।

भाइ प्रदीपलाई एमालेले बुवाको मृत्युपछि उम्मेदवार बनाएपछि दाजु प्रकाश चौधरी बुवाको किरिया बसेका छन्। उनको किरिया आउँदो सोमबार अर्थात् जेठ २ गते सकिन्छ। यो बीचमा प्रदीप किरिया बस्ने छैनन्। किनभने ३ गते निर्वाचन आयोगले तुलसीपुर-१७ मा निर्वाचनको मिति तोकेको छ। त्यसैले प्रदीले घरका अरू सदस्यले काज किरियाको काम सिध्याई चोखीनिधि भइ सकेपछि पछि ३ गते बेलुकादेखि मात्रै किरियाको काम थाल्ने छन्।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार