करिब ५ वर्षको अवधिमा डिस्टिङ्क्सन हान्यौ : मेयर पाण्डे

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २७ गते मङ्गलवार


दाङ :   तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले करिब पाँच वर्षको अवधिमा तुलसीपुरको विकास निर्माणको हिसाबले सुनौलो युगमा स्थापित गरेको दाबी गरे ।  मंगलबार उपमहानगरमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालको  गौरवमय उपलब्धीको बारेमा जानकारी दिँदै  तुलसीपुर विकास, समृद्धि र सुशासनका निम्ति जग बलियो निर्माण भएको बताए ।

उनले भने,‘  एमालेबाट २०७४ सालमा  मेयरमा म र उपमेयरमा माया आचार्य निर्वाचित भएका थियौँ । असार २५ गतेदेखि जिम्मेवारी समालेका थियौँ । हामीले ४ वर्ष १० महिना २ दिनमा हामीले  तुलसीपुरको  विकास, समृद्धि र सुशासनका निम्ति बलियो जग बसालेका छौँ ।’  समृद्ध तुलसीपुर सबैका लागि र सधैँका लागि बनाउने बाटो प्रशस्त भएको पनि उनको भनाइ थियो ।

उनले आफूहरूले निर्वाचनको समयमा जनतासामु गरेका प्रतिवद्धताहरू मध्य करिब ९० प्रतिशत काम पुरा भएको पनि दाबी गरे । उनले तुलसीपुरमा आफूहरूले धेरै काम गरेको भन्दै अहिले हुन लागेका स्थानीय तहको निर्वाचनमा दलहरूले बनाएको घोषणापत्रहरूमा आफूहरूले सबै काम गरिदिएको पनि बताए ।

‘ मेरो भएको र अन्य दलहरूले २०७९ को लागि  घोषणापत्र हेर्नु भयो, भने घोषणा पत्रमा जे कुरा उल्लेख भएका छन् ।त्यो कुरा हामीले हाम्रो कार्यकालमा पुरा गरेका छौँ,‘ उनले  थपे,‘ अहिले उनीहरूले पालिका हस्पिटलको कुरा उठाएका छन्। त्यो हामीले बनाइसकेका छौँ । प्रविधि शिक्षाको कुरा उठाएका छन् । त्यो पनि हामीले तुलसीपुरमा मेट्रो कलेज सञ्चालन गरेर  शिक्षा प्रदान गर्दै आएका छौँ ।’

उनले तुलसीपुर शिक्षाको हवका रुपमा विकास भएको बताउँदै सबै विद्यालय र क्याम्पसहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि उल्लेखनीय काम गरेको पनि दाबी गरे ।
‘ तुलसीपुरमा रक्त सञ्चार सञ्चालन भएको छ । राप्ती प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनमा छ । राप्ती आँखा अस्पतालको पूर्वाधार निर्माणको काम भएको छ,‘  उनले भने ।  ग्रामीण बस्तीमा एम्बुलेन्समा सञ्चालन, मातृशिशु सुरक्षा कार्यक्रम, मोतियाबिन्दु मुक्त नगर बनाउनका लागि उपमहानगरको उल्लेखनीय काम भएको उनको भनाई छ ।
त्यस्तै कार्यालयलाई सेवाग्राही मैत्री बनाउनका लागि अनलाइन मार्फत सेवा विस्तार र क्यासलेस बनाइने काम गरेको उनको भनाइ थियो  । उनले  नेपालमै पहिलो पटक तुलसीपुर विकास प्राधिकरण निर्माण गरेर सडक पूर्वाधारको कामलाई अगाडि बढाइएको पनि बताए  ।  उनले सार्वजनिक निजी साझेदारीमा ठूला आकारका कामहरू आफ्नो कार्यकालमा गरेपनि बताए ।

‘ तरकारी तथा फलफूल बजार,  तुलसीपुर अटो भिलेज, तुलसीपुर बसपार्क र विमान सेवा सञ्चालन हामीले गरेको साझेदारीमा नमुना र उल्लेखनीय कामहरू हुन,‘ उनले भने । उनका अनुसार  तुलसीपुरमा  १ सय ५५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

त्यस्तै नगरका ८० प्रतिशत घरमा खानेपानी र ९० प्रतिशत घरमा विद्युति करण भएको पनि बताए ।  त्यस्तै आफ्नो कार्यकालमा तुलसीपुरलाई खेल क्षेत्रको केन्द्रका रुपमा विकास गर्नका लागि राष्ट्रियस्तरको बेलझुण्डी रंगशाला निर्माण सम्पन्न हुनुका साथै एक वडा एक खेल मैदानको कार्यक्रम अनुसार हरेक वडामा खेल मैदान निर्माणको काम अगाडि बढेको बताए ।

तुलसीपुर ऋणमा छैन

पत्रकार सम्मेलनमा बोल्दै मेयर पाण्डेले तुलसीपुर उपमहानगर ऋण नभएको बताए । उनले आफ्नो करिब ५ वर्षीय  अवधिमा गौरबपूर्ण योजनाहरु गरेको भन्दै राम्रा कामहरुलाई ओझेल पार्नका लागि ऋणको गलत अफवाह फैलाइएको बताए ।

‘ यदी कसैले ऋण छ, भनेर नगरपालिकामा सप्रमाण आउँछ भने म व्यक्तिगतरुपमा त्यसको जिम्मेवारी लिन्छु,‘ उनले भने,‘  ऋण भएको भनेर आरोप लगाउनेहरुलाई बाहिर हल्ला गर्नु भन्दा पनि नगरपालिकामा सम्पर्क राखेर भुक्तानी लैजानुहोस् । ’  संघ र प्रदेशका योजना पनि हामीले समयमै सम्पन्न  गरेको भन्दै उनले  त्यहाँबाट समयमै पैसा निकासा नहुँदा केही दायित्व बढेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार