मुक्त कमैयाको गुनासो : हामीले भोट दिएर जिताएर पठाउँछौ, तर, हाम्रो समाधान भएन

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २७ गते मङ्गलवार


दाङ :  घोराही उपमहानगरपालिका १६ की सन्तली चौधरी मुक्त कमैया हुन् । उनी २२ वर्षसम्म कमैया बसेकी थिइन् । कमैया मुक्तसँगै मुक्ति पाएकी उनी अहिले सम्म आफ्नो नाममा जग्गा पाएकी छैन् । आफ्नो नाममा जग्गा नहुँदा कति बेला कसले उठाउने हो ? भन्ने उनको मनमा सधैँ चिन्ता रहेको छ । उनी बस्दै आएको जग्गा नाममा गरिदिन्छौ, भन्ने धेरै नेताहरूले उनलाई आश्वासन मात्र दिएका छन् । तर, अहिलेसम्म त्यो आश्वासन पुरा नभएको उनले गुनासो गरिन् ।

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पार्टीका उम्मेदवारहरू उनको गाउँमा भोटमा दैनिक जसो आउने गर्दछन् । उनीहरूले सन्तली जस्तै मुक्त कमैया बस्तीमा रहेका नागरिकहरूलाई उनी आश्वासन बाढ्दै आएका छन् । हामीलाई जिताए । हामी जग्गाको लालपुर्जा दिन्छौँ । सन्तलीले यस पटक मात्र नभइ २०७४ सालको स्थानीय तहमा पनि उस्तै आश्वासन पाएकी थिइन् ।

तर, न स्थानीय तहका जनप्रतिनिधिले त्यो पुरा गरिदिए । न प्रदेश र सङ्घमा उनी जस्तै मतदाताको भोटबाट जितेर गएकाले पुरा गरिदिए । उनले भनिन्,‘ चुनावको बेला नेताहरू हामीसँग भोट माग्न आउँछ । हामीलाई भन्छन्, यो जग्गा नाममा गरिदिन्छौँ । छोराछोरीलाई निःशुल्क पढाइ दिन्छौँ, भन्ने विभिन्न आश्वासन मात्र दिन्छन् ।तर, जितेर गएपछि हामीलाई फर्केर हेर्दैनन् ।’

उनले आफूहरू अहिले सरकारी कार्यालयको जग्गामा बस्दै आएको पनि बताइन् । प्रशासनको जग्गामा आफूहरू बस्दै आएको भएयता पनि प्रशासनले आफूहरूलाई जग्गाको व्यवस्थापन नहुँदासम्म नहटाउने भन्ने बाचा दिएका कारण आफूहरू यहाँ बस्दै आएको उनको भनाइ थियो । उनले भनिन्,‘ हाम्रा तिन पुस्ता बितेर गए । तर, हाम्रा नाममा जग्गा छैन् ।

२०७४ सालमा नरुलाल चौधरीले घोराहीमा जितेपछि आफूहरूको समस्या लिएर भेट्न जादा सरकारी जग्गा हुँदा समस्या हुन्छ, भनेर जवाफ आयो । भोट माग्ने बेला हामी कहाँ बसेका छौँ । त्यो उहाँहरूलाई थाहा हुँदैन । जब जित्नु हुन्छ । अनि हाम्रो समस्या विभिन्न बाहना टार्न खोजिन्छ । के हामी, भोट दिनको लागि मात्र हौँ ।’ त्यस्तै अब आफूहरूको लागि जग्गाको ग्यारेन्टी नहुँदासम्म गाउँका सबैले भोट हाल्न नजाने सल्लाह गरेको पनि उनले बताइन् ।

गाउँमा पानीको पनि समस्या रहेको उनका भनाइ थियो । उनले आफूहरू मुक्त कमैया भएको भन्दै आर्थिक अभावका कारण छोराछोरीलाई पनि पढाउन समस्या हुने गरेको गुनासो गरिन् । जिल्लामा मुक्त कमैया र सुकुम्बासीका समस्या उस्तै रहेको छ । सन्तली जस्तै घोराही १६ सानी अम्बापुरका जङ्ग बहादुर चौधरीको पनि उस्तै समस्या रहेको छ । अहिले चुनाव नजिकिँदै गर्दा गाउँमा भोट माग्ने नेताहरू धेरै आउँने गरेको उनको भनाइ छ ।

उनले भने,‘ अहिलेसम्म हामीले कति पटक भोट हालेर नेतालाई जिताएर पठायौँ । तर, हाम्रा समस्या भने जिउका तिउँ छ । अहिले पनि उनीहरु जग्गाको लालपुर्जा दिने भन्दै आएका छन् । न हामीले जग्गाको लालपुर्जा पाएका छौँ । न हामीले रोजगार पाएका छौँ । हामीले धेरै समस्या भोग्दै आएका छौँ ।’ त्यस्तै सोही ठाउँकी मुक्त कमैया चन्द्र कला चौधरीका गुनासा धेरै रहेका छन् । उनले पनि आफूहरू लामो समयदेखि यही ठाउँमा बस्दै आएको भएयता पनि अहिलेसम्म जग्गाको लालपुर्जा नभएको गुनासो गरिन् ।

यस्तै उनले कमैयाबाट मुक्त भएको लामो समय हुँदा पनि अहिलेसम्म परिचय पत्र नभएको बताइन् । उनले भनिन्,‘ न हामीले अहिलेसम्म जग्गा आफ्नो नाममा पाएका छौँ । न मुक्त कमैयाको परिचय पत्र पाएका छौँ । आम्दानी गर्नको लागि घरमा केही छैन् । न हामीसँग घरको लालपुर्जा नै छ । सबै घरमा बेरोजगार हुँदा छोराछोरी पढाउन समस्या भएको छ । नेताहरू चुनावको बेला मात्र भोट माग्न गाउँमा आउँछन् । हाम्रो समस्या बुझ्ने कोही भएनन् ।’

उनले भोट माग्ने समयमा मात्र विभिन्न पार्टीका नेताहरूले मेरा मान्छे, भन्ने गरेको भएयता पनि जितेर गएपछि व्यवास्ता गर्दा आफूहरू यो देशको नागरिक भएको जस्तो नलाग्ने पनि गुनासो गरिन् । लामो समयदेखि जमिन्दारको घरमा कमैयाको रुपमा काम गरीरहेकाहरु २०५७ सालमा मुक्त भए । सरकारले कमैयाहरुलाई मुक्त घोषणा ग¥यो । त्यो घोषणा संगै सरकारले प्रति परीवारलाई ५ कठ्ठा जग्गा दिने उद्धोष पनि गरेको थियो । तर, कति कमैयाले जग्गा पाए भने कतिले पाएनन् ।

नपाएकाहरु यसरी सरकारी जग्गा कब्जा गरेर २०६१ साल देखि यँहा बसोबास गर्दै आएका छन । यता घोराही उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार हेमराज शर्मा ‘ डाइमण्ड’ ले आफूहरले जिते मुक्त कमैयाहरुको हकमा ब्यवसायी सिप प्रदान गर्ने बताए । उनले उनीहरुको आत्मनिर्भरताको लागि सिप र क्षमताको आधारमा उपमहानगरबाट अनुदानको ब्यवस्थापन गर्ने पनि बताए ।

उनले भने,‘ उनीहरुलाई आर्थिक रुपमा माथि उठाउनको लागि हामीले योजना बनाएका छौँ । अहिलेसम्म उनीहरूले केही नपाएको गुनासो हामीलाई सुनाएका छन् । अघिल्लो सरकार गरे, नगरेको जे भएपनि हामीले जिते गर्नेछौ । हामीले उनीहरुको लागि उचित व्यवस्थापन गर्ने छौँ ।’ त्यस्तै उनले आफूहरूलाई जिताएर पठाएमा काम गरेर देखाउने पनि दावी गरे । उनले भने,‘ अहिले भन्दा कुरा मात्र गरेको लाग्ला । तर, हामी काम गरेर देखाउने छौँ । कमैयाको मात्र नभइ सुकुम्बासी लगायतका समस्या पनि समाधान गर्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार