दाङ : जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार एक सूचना जारी गर्दै राति १२ बजेदेखि मदिरा बिक्री वितरण गर्न नपाइने भनी रोक लगाएको छ ।
मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सहायक सीडीयो सावित्रा पुनद्धारा जारी सूचनामा उल्लेख छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिरा बिक्री वितरणमा रोक लगाइएको जनाइएको छ ।
त्यस्तै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीहरू स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न मतदान केन्द्रमा खटिएकाले कार्यालयबाट प्रदान हुँदै आएका केही सेवाहरू बैशाख २९ गतेसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । कार्यालयका अनुसार नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्बन्धी कार्य स्थगित हुने छन् ।