सहमति र सहकार्यले मात्र देशमा राजनीतिक स्थायित्व दिन्छ : प्रचण्ड

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २५ गते आइतवार


दाङ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम लोकतान्त्रिक शक्तिका बिचमा सहमति र सहकार्यले मात्र यो देशमा राजनीतिक स्थायित्व दिने दाबी गरे । आइतबार दाङको तुलसीपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सहमति र सहकार्यबाट नै जनताको आवश्यकता अनुसार विकास र समृद्धिको नयाँ युगमा देशलाई लैजान सकिने बताए ।

उनले भने,‘ तपाईँहरूलाई थाहा होला । गतवर्ष यो देश राजनीतिक दुर्घटनामा पर्ने खतरा पैदा भएको थियो । नेपाल कम्युनिष्ट पार्टी त्यसको नेतृत्वमा भएको सरकार आफै सिंगै संविधानलाई उल्टाउने डिजाइन अन्तर्गत काम भए । पार्टी भित्रको बहस र सङ्घर्षमा आफू कम्जोर परेपछि जनताको प्रतिनिधि संस्था विघटन गर्ने र संविधान उल्टाउने काम भयो । त्यो निकै ठुलो षड्यन्त्र थियो ।’

उनले त्यही षड्यन्त्रलाई परास्त गर्नको लागि यो गठबन्धनको जन्म भएको भन्दै गठबन्धनमा रहेका दलहरू संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा गर्ने अग्रगामी र प्रगतिशील गठबन्धन भएको बताए ।
त्यस्तै उनले संविधान कुल्चन खोज्ने, देशलाई निरंकुशता तर्फ लैजाने तत्त्वहरूको अर्को गठबन्धन भएको भन्दै लोकतन्त्रको पक्षमा रहेको गठबन्धनलाई जिताउन आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा धेरै चुनौतीहरू आएको भन्दै धेरै छलफल, बहस र मेहेनतबाट ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सर्वसम्मत रुपमा मेयर, उपमेयर चयन गरेको भन्दै यो एउटा ऐतिहासिक सुरुवात भएको बताए ।

उनले अहिलेको संविधानले एउटै पार्टीलाई बहुमत आउन दिन स्थिति नभएको भन्दै गठबन्धन शक्तिलाई सुदृढ गर्ने आवश्यकता देशको एकताको निम्ति, राजनीतिक स्थिरताको निम्ति र विकासको निम्ति अनिवार्य भएको दाबी गरे । ‘ हामीले धेरै मेहेनत गरेर यो गठबन्धनलाई अगाडि बढाऔँ । तर, अझै पनि तलसम्म हामी सबै एक अर्काप्रति विश्वस्त हुने, एक अर्काप्रति आवश्यकता र महत्व बोध गर्ने संस्कृतिको अझै विकास भएको छैन्,‘ उनले भने,‘ अझै पनि रुखमा भोट हाल्दै आएकालाई हसिया हथौडामा भोट हाल्न धेरै गाह्रो लाग्ने र हसिया हथौडामा भोट हाल्दै आएकालाई रुखमा भोट हाल्न गाह्रो हुने, कलम, गिलासमा हाल्नेलाई अन्यमा हाल्न गाह्रो हुने अवस्था रहेको छ । यो अवस्थालाई अब बदल्नु पर्छ ।’

यसैगरी उनले गठबन्धनमा रहेका दलहरूका अलग अलग दर्शन , राजनीतिक र मुद्दाहरू भएयता पनि संविधान, लोकतन्त्र, गणतन्त्रको निम्ति गठबन्धन भएको बताए । उनले विगतको तिता मिठा अनुभवबाट शिक्षा लिएर यो गठबन्धन स्थानीय तहको चुनावसम्मको लागि मात्र भई विकास र समृद्धि बढाउन केही दशक यो जान जरुरी रहेको पनि उल्लेख गरे । उनले गठबन्धन गर्दा नेताहरूले मात्र कुरा बुझेर नहुने भन्दै आम कार्यकर्ताहरूले पनि सहयोग गर्नु पर्नेमा जोड दिए ।

यसैगरी उनले  केही दिन अगाडी चितवन र काठमाडौँको चुनावी सभालाई सम्बोधन गरेको कुरालाई कतिपय मिडियाले जनतालाई धम्क्याएको, र गठबन्धनलाई नजिताए दुर्घटना हुन्छ, भन्ने चर्चा परिचर्चा गरे । ‘ यो गठबन्धन ठुलो प्रतिगामी षड्यन्त्र, एउटा निकै ठुलो लोकतन्त्र विरुधीलाई प्ररास्त गर्नको लागि जन्मिएको हो,‘ उनले भने,‘ यो निर्वाचनबाट पनि त्यो षड्यन्त्रलाई परास्त गर्न जरुरी छ । त्यो षड्यन्त्र प्ररास्त गर्न मैले जनतालाई अपिल गरेको थिए । गठबन्धनको उम्मेदवारलाई जिताए, मात्र ति विरोधीहरुलाई प्ररास्त गर्न सकिन्छ, भने । तर, मेरो भनाइलाई छोरी जिताउनको लागि छोरी नजिते देश भाडमा जावस्, दुर्घटनामा जान्छ, भन्यो, भनेर नकारात्म ढंगले प्रचार गरियो ।’

त्यसैगरी उनले दाङका गठन्धन भइको ठाउँमा गठबन्धनका उम्मेदवारहरुलाई भोट दिएर जिताउन पनि सबैलाई आग्रह गरे । त्यस्तै जिल्लामा गठबन्धन गर्नको लागि धेरै प्रयास भएयता पनि अझै पनि केही ठाउँमा बाँकी रहेको भन्दै अझै पनि मिलाउन सक्ने भएर मिलाएर जान पनि उनले आग्रह गरे । त्यसैगरी अध्यक्ष प्रचण्डले तुलसीपुरको कार्यक्रमपछि घोराहीमा आयोजित चुनावी सभा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार