गठबन्धनले कांग्रेसलाई फाइदा छ : प्रधानमन्त्री देउवा ( फोटो फिचर )

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २५ गते आइतवार

दाङ :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए । आइतबार दाङको तुलसीपुरमा गठबन्धन दलले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनमा रहेका दलहरूसँग नेपाली कांग्रेस मिल्नु पर्ने बाध्यता रहेको र यो ऐतिहासिक आवश्यकता भएको पनि बताए । उनले अहिले जसले जे कुरा उठाए पनि अरु कुराको भ्रममा नपरी गठबन्धनलाई जिताउन आग्रह गरे ।

उनले भने,‘ गठबन्धन नभएको भए अहिले यो लुम्बिनी प्रदेशमा हाम्रा मन्त्रीहरू हुने थिएनन् । गण्डकी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनका कारण नै नेपाली कांग्रेसको सरकार बनेको हो । यो गठबन्धनले के हानी गरेको छौँ ? यसले सबै भन्दा बढि फाइदा कांग्रेसलाई नै भएको छ । ’ गठबन्धनले कांग्रेस फाइदा दिएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसलाई आफ्नो सरकार टिकाउन गठबन्धन जरुरी रहेको पनि उल्लेख गरे ।

उनले भने,‘ गठबन्धन अरुको लागि भन्दा कांग्रेसको लागि बढि आवश्यक छ । यसको आधारमा मैले राष्ट्रिय आवश्यकता भनेको हो । ’उनले वडादेखि प्रमुख पदसम्म गठबन्धनका उम्मेदवारहरूले जितेमा संघीय सरकारले पठाएको पैसाको सदुपयोग हुने र त्यसबाट नै देशको विकास हुने पनि बताए । तुलसीपुरमा पनि कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्ने भएकाले सबै कार्यकर्ताहरूलाई जिताउन उनले आग्रह गरे । उनले अहिले गठबन्धनमा रहेका दलका नेताहरूले आफूहरूलाई सकारात्मक रुपमा प्रधानमन्त्री मानेको भन्दै आफूलाई धेरै खुशी लागेको पनि व्यक्त गरे ।

उनले भने,‘ ओली ‘जि’ ले राष्ट्रलाई राष्ट्रलाई दुर्घटना तर्फ लादैँ हुनुहुन्थ्यो । संसद्मा विरोध गरे संसद् भंग गरि हाल्ने । तर, त्यो व्यवस्था संविधानमा ब्यवस्था छैन् । हामीले हार गुहार गरेर अदालतबाट संसद् फिर्ता गरायौँ । तर, उहाँले संसद् चल्न नदिने । उहाँ प्रजातन्त्रवादी होइन् ।’ अदालतको निर्णय पनि नमान्ने र जनताको निर्णय पनि नमान्ने हुँदा नै उहाँका विरुद्धमा बहुमत प्राप्त गठबन्धन भएको उनको भनाइ थियो ।

‘ बहुमतका आधारमा नै शासन गर्न पाइन्छ , होला । तर, यहाँ एक पटक प्रधानमन्त्री भएपछि जीवनभर प्रधानमन्त्री भइरहुँ भन्न मिल्दैन्,‘ उनले भने,‘ ओली ‘जि’ बाट मुक्ति पाउन अत्यन्त आवश्यक रहेको थियो । हामी अदालतमा गयौँ । संसद्मा अविश्वासको प्रस्ताव राखौँ । अहिले गठबन्धनको सरकार बनाएको छौँ ।’ तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री देउवा र प्रचण्ड घोराहीमा आयोजित सभालाई सम्बोधन गर्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार