दाङ : तुलसीपुर सञ्चालित प्रथम अन्तर बैंक फुट्सल प्रतियोगिता २०७८ को उपाधि ग्लोबल आईएमई बैंक शाखा तुलसीपुरले जितेको छ । तुलसीपुर बैकर्स क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा कुमारी बैंक शाखा तुलसीपुर लाई शून्य का विरुद्ध दुई गोल अन्तरले पाखा लगाउदै ग्लोबल आई एम ई बैंकले उपाधि जितेको हो ।
उपाधिसँगै उसले कप, मेडल तथा प्रमाणपत्र हात पार्यो । फाइनलमा सम्मान जनक हार व्यहोरेको कुमारी बैंक उपविजेतामा चित्त बुझाउन बाध्य भयो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म एक/एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टी सुटआउट बाट निकालिएको थियो ।
दुई दिन सम्म सञ्चालित प्रतियोगितामा तुलसीपुर क्षेत्रमा स्थापित ११ कमर्सियल बैंकहरूको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको समापन समारोह तुलसीपुर बैकर्स क्लबका अध्यक्ष रञ्जन कोइरालाको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं फुटबलका पूर्व राष्ट्रिय खेलाडी सुधीर गुरुङको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अवसरमा दाङ जिल्लाको फुटबल विकास र बिस्तारसँगै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा अतुलनीय योगदान पुर्याएको भन्दै फुटबलका पूर्व राष्ट्रिय खेलाडी सुधीर गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सानिमा बैंक शाखा तुलसीपुरका प्रबन्धक योगेश मल्लले गरेका थिए ।