दाङ : तुलसीपुर उपमहानगरपालिका ९ मा १५ महिनादेखि १५ वर्ष मुनिका ३४ सय बढी बालबालिकाहरूलाई टाइफाइड रोग विरुद्ध खोप दिइने लक्ष्य रहेको छ । बुधबार नगर स्वास्थ्य केन्द्र दोघरेमा भएको वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा केन्द्रका प्रमुख ईश्वरी प्रसाद चालिसेले बताए ।
यही चैत २५ गतेदेखि आउँदो बैशाख ७ गतेसम्म वडाका ३ हजार ४५९ बालबालिकाहरूलाई टाइफाइड रोग विरुद्धको खोप प्रदान गरिने बताए । उनले वडामा रहेका सामुदायिक तथा निजी विद्यालय र नगर स्वास्थ्य केन्द्रबाट खोप दिइने पनि बताए ।
जसका लागि २५ गते मावि दोघरे, २८ गते सरस्वती चौतारा आधारभुत विद्यालय सल्लीबिन , २९ गते जन नमुना स्कुल कैलाशनगरबाट खोप प्रदान गरिने छ । त्यस्तै ३० गते जीवन प्रेमी बोर्डिङ स्कुल, बैशाख २ गते सप्तरंगी बोर्डिङ स्कुल, ४ गते साधना पाठशाला, ५ गते सगरमाथा बोर्डिङ स्कुल, ६ गते पारिजात स्कुल दोघरे र ७ गते नगर स्वास्थ्य केन्द्र दोघरेबाट टाइफाइड रोग विरुद्धको खोप प्रदान गरिने प्रमुख चालिसेले बताए । उनका अनुसार वडामा रहेका विद्यालयमा ३ हजार १४९ बालबालिका र १५ देखि ५ वर्षसम्मका ३१० जनालाई खोप दिइने छ ।
स्वास्थ्य केन्द्रका अध्यक्ष एवं तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न निर्णय गरिएको छ । जसमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा उपस्थित गराएको खोप प्रदान गर्ने ।
अभियानमा छुटेकालाई बैशाख ७ गते नगर स्वास्थ्य केन्द्रमा ल्याइ खोप दिइने र जसको लागि प्रचार प्रसार गर्ने रहेको छ । कार्यक्रममा स्वास्थ्य केन्द्रका उपाध्यक्ष डम्मर पुरी, सदस्यहरू यम नारायण सापकोटा, घनश्याम रेग्मी, रेनुका चौधरी, लगायत वडामा रहेका विभिन्न विद्यालयका शिक्षक लगायत ब्यक्तिको उपस्थित रहेको थियो ।