त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि नेपालले जित्यो

Author Logo..
अनलाइन राप्ती २०७८ चैत्र २१ गते सोमवार

काठमाडौं : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि नेपालले जितेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ५० रनले पराजित गर्दै उपाधि जितेको हो। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ दशमलब १ ओभरमा १ सय १८ रनमै समेटियो।

पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान गरे। ३८ बलमा उनले ६ छक्का र एक चौका प्रहार गरे। चार्ल्स अमिनीले १५ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।  पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। करण केसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो।नेपालका लागि बिस्फोट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले आउट नभइ ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका प्रहार गरे।

उनले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन्। उनी नेपालबाट टी-२०अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन्। १२ बल खेलेका करण केसी एक छक्का र ५ चौका प्रहार गर्दै ३३ रनमा अविजित रहे। ​

आसिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाउँदा रोहित पौडेल २ रन बनाउँदै आउट भए। आरिफ शेख र दिलिप नाथ शून्य रनमा पेभिलियन फर्किए। मलेसिया र पिएनजी सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेपाल अपराजित रह्यो। उसले फाइनलसम्मका सबै पाँच खेल जितेको हो।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार