जिल्लाकै सर्वाधिक पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता हुँदै

Author Logo..
लक्ष्मण बस्नेत  २०७८ चैत्र २१ गते सोमवार

दाङ :   तुलसीपुरमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशि भएको लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ ।  नेपाल विद्यार्थी संघ सिटिइभिटी लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर ६ को समन्वय सञ्चालन गरिन लागेको प्रतियोगिता आउँदो बैशाख ६ गतेदेखि सुरु हुनेछ । 

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ  राष्ट्रियता , लोकतन्त्र, समाजवाद, विद्यार्थी एकता भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला र साबिक राप्ती अञ्चलबाट लुम्बिनी प्रदेशमा छुटेका दुई जिल्ला सल्यान र पश्चिम रुकुम गरि १४ टिमको सहभागिता रहने नेपाल विद्यार्थी संघ सिटिइभिटी लुम्बिनी प्रदेश समन्वय समितिका अध्यक्ष सूर्य नारायण बटालाले जानकारी दिए । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सुस्ताएको स्थानीय स्तरको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धी मापदण्ड अपनाउँदै तुलसीपुर ६ मा रहेको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद २ लाख २२ हजार २ सय २२, १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ तथा कप, मेडल, प्रमाणपत्र हात पार्ने अध्यक्ष बटालाले बताए ।

यसैबीच आयोजक नेपाल विद्यार्थी संघ सिटिइभिटी लुम्बिनी प्रदेश समन्वय समितिले यतिबेला प्रतियोगिताको तयारी लाई तीब्र पारेकोछ । उसले टिम दर्ता, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, खेल मैदान निर्माण लगायतका पक्षमा तिव्रता दिएको प्रतियोगिता सञ्चालनमा समन्वयकारी भूमिकाको जिम्मा पाएको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका सञ्चालक कमल खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार