विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतीक हुन : प्रचण्ड

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १ गते शनिवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको  प्रतीकका रूपमा उभिएको बताएका छन्। उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन्।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे संक्रान्ति (मकर संक्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताएका छन्।

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै अध्यक्ष प्रचण्डले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गरेका छन्।

‘यी चाडपर्वले नयाँ उमंग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन्‚’ शुभकामना सन्देशमा उल्लेख छ‚ ‘नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वलाई आधार स्तम्भका रूपमा लिन सकिन्छ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार