बालअधिकार कार्यान्वयनका लागि सरोकारवालालाई अभिमुखीकरण

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ३० गते शुक्रवार

फाइल तस्बिर

दाङ :  बालअधिकार व्यवहार तहमा कार्यान्वयनका लागि तुलसीपुर ७ मा सरोकारवालालाई अभिमुखीकरण गरिएको छ ।  बेसको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले संयुक्त रुपमा आयोजना गरी जनप्रतिनिधि,  टोल विकास संस्था, विद्यालयका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई बालअधिकार कार्यान्वयनका विषयमा अभिभुखिकरण गरिएको हो ।

कार्यक्रममा सहभागीले बालअधिकार कार्यान्वयन गर्न व्यक्तिसँगै घरपरिवार, समाज, टोल र सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सहभागीले बालश्रम, लागूऔषध दुर्व्यसनी, बालविवाह लगायतका कारण बालअधिकार कार्यान्वयन चुनौति रहेको बताएका छन् । सहभागि वक्ताले बालअधिकारका कुरा संविधानमा व्यवस्था गरिएपनि व्यवहारिकतामा  कार्यान्वयन कार्यान्वयन गर्न निकै चुनौति रहेको बताएका छन् ।

अभिभुखिकरण कार्यक्रममा बालबालिकाको बाँच्न पाउने, उनीहरूको संरक्षण, विकास र सहभागिताको अधिकारका विषयमा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले सरोकारवालालाई अभिभुखिकरण गरिन् । वडा भित्र रहेका टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यालयका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई प्रमुख श्रेष्ठले बालबालिकाको अधिकार व्यवहारिकतामा  लैजान सबै जिम्मेवार बन्नुपर्ने बताइन् ।  

भोलिको सुन्दर समाज निर्माण गर्न गर्भावस्थादेखि नै बालअधिकार रक्षाका लागि अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उनले अभिभुखिकरण गरिन् ।  कार्यक्रममा वडा अध्यक्ष टोपबहादुर केसीले बालअधिकार कार्यान्वयन गर्न सके मात्रै भोलिको सुन्दर भविष्यको परिकल्पना गर्न सकिने बताए । उनले बालश्रम, बालविवाह लगायतका चुनौति रहेको औँल्याउँदै यसको न्यूनिकरणका लागि सरकार र नागरिक दुवैको भूमिकालाई बढाउनुपर्ने बताए । 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले सबैको सक्रियताले समाज रूपान्तरण गर्न सकिने बताए  । परिवर्तन विस्तारै हुने भएकाले पनि बालअधिकार व्यवहारिक तहमा कार्यान्वयन हुन पनि केही ढिला हुन सक्ने उनको भनाई छ । कार्यक्रममा नगरका लेखा शाखा प्रमुख बासुदेव अधिकारीले बालअधिकार व्यवहारिक तहमा कार्यान्वयनका गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए । 

यसैबीच वडा बालअधिकार सञ्जाल गठन गरिएको छ । वडा अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा दुई सदस्य पछि थप्ने गरी वडा बालअधिकार समिति गठन गरिएको हो । समितिको सदस्यमा जनप्रतिनिधि चित्रा मल्ल र  शारदा सुनार, मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, प्रावि डाँडापातुका  नन्दलाल भट्टराई, हाम्रो पहुँच विद्यालयका प्रधानाध्यापक डीआर भण्डारी रहेका छन्  ।

त्यसैगरी बालिका प्रकृति पुन, प्रहरी चौकी पर्सेनीका प्रमुख भिमबहादुर रावत, समाजसेवी नोखी रावत, ओमबहादुर वली, सशक्तीकरण महिला सहकारीका पदमा कडेल र सदस्य सचिवमा वडा सचिव आशाराम चौधरी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार