थारू समुदायको कला संस्कृति हराउन थाले पुराना पुस्ता चिन्तित, नयाँ पुस्तालाई बचाउन चुनौति ( फोटो फिचर )

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ३० गते शुक्रवार

तस्बिर : डिल्ली कुमाल

दाङ :  शान्तिनगर गाउँपालिका ५ ढोरेनी कृष्ण बहादुर चौधरी अहिले ७० वर्षका भए । उनी थारू समुदायका मटहवा पनि हुन् । तर, उनी अहिले आफ्नो थारू समुदायको मौलिकता बोकेको कला संस्कृति हराउन थाले पनि चिन्तित छन् ।  थारू समुदायले विशेष गरी  माघी पर्व महान रुपमा मनाउने गर्दछन् ।

थारू समुदायले माघी पर्वलाई नयाँ पर्वका रुपमा लिने र माघी पर्वमा नयाँ काम गर्न, विवाह गर्न, अंशबन्डा हुने लगायतका काम पनि गर्ने गरी मनाउने भएयता पनि पछिल्लो पुस्ताले सबै भुल्दै गएको उनले बताए ।

उनले भने,‘ पहिला हाम्रा पालो जस्तो अहिले  कुनै पनि पर्व मनाइदैन । त्यो वेला गाउँभरी मानिसहर मटहवाको घरमा जम्मा हुने, रातभरि रक्सी, मासु खाएर नाच्ने गर्दथे । तर, अहिले सबै हराउँदै गएको छ । मादलमा नाच्न छाडे, साउन्ड सिस्टमबाट नाच्छन् ।’

त्यस्तै उनले थारू समुदाय चाडपर्व मात्र नभइ काममा पनि मिलेर गर्ने गरेको बताए । कसैको घर बनाउनको लागि पनि गाउँकै मानिसहरू गएर बनाउँथ्यौँ । कसैको धान काट्न पनि त्यस्तै पर्दथ्यौँ । तर, अहिले सबै हराउँदै गएको उनको भनाइ छ ।

त्यस्तै शान्तिनगर ५ बाघढुइका बुद्धिराम चौधरीले पनि आफ्नो कला संस्कृति हराउँदै गएकाले अहिलेका युवा पुस्ताले ध्यान दिनु पर्न बताए । उनले थारू समुदायको जुन संस्कार, रीतिरिवाज थियो, त्यो हराउँदै गएको समेत उनले बताए ।

उनले भने,‘ हाम्रो मुख्य पर्व माघी नै हो । हामीले यस पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछौँ । नयाँ कामको योजना, कसले के गर्न लागेको छ । त्यो सबैलाई जानकारी दिने हुन्छ । छोरीहरूको विवाह पनि गाउँ मै गरिदिने चलन थियो । तर, आज सबै हराउँदै गएको छ । ’

त्यस्तै उनले आफूहरूको कला संस्कृति हराउँदै जानुमा पछिल्लो सयम युवा पुस्ताहरू आधुनिकता तर्फ लाग्दा र गाउँमा भएका थारू समुदायहरू पनि बसाइ सरी  अन्य जादा भएको समेत उनको भनाइ छ । ‘ हाम्रो गाउँमा करिब ८ घर हामीहरू थियौँ । तर, ४ घर बसाइ सरी यहाँबाट कैलाली गए । अहिले ४ घर मात्र छौँ । हामीले ४ घरले मात्र आफ्नो कलासंस्कृति बचाउँदै आएका छौँ,’ उनले भने ।

यसैगरी उनले कतिपय आफूहरूका नराम्रा संस्कारले भुल्दै गएपनि राम्रालाई बचाइ राख्नु पर्ने उल्लेख गरे । उनले थारू समुदाय आर्थिक स्थितिले कम्जोर भएयता पनि कला र संस्कृति हिसाबले धनी मानिने समेत बताए ।

‘ हामीले माघीमा मौहटा गीत गाउँछौ । दशैँमा दशहिया गीत गाएर छोरी बहिनीहरू नाच्ने चलन थियो,‘ उनले भने,‘ कृष्णजन्माष्टमीमा कृष्ण चरित्र र महादेव पार्वतीको महिलाहरू गीत गाउँथेँ । अहिले धेरै ठाउँमा यस्ता हराउँदै गएका छन् । केही ठाउँमा मात्र हुन सक्छ ।’

पुराना पुस्ताकालाई मात्र नभइ युवा पुस्ताकालाई पनि आफूहरूको कला संस्कृति हराउँदै गएको थाहा छ । त्यहीँ कला संस्कृति जोगाउन आफू निरन्तर रुपमा लाग्दै आएको उनीहरूको भनाइ छ ।
पछिल्लो पुस्ताहरू आफ्नो कला संस्कृति हराउँदै  गएको भन्दै चिन्ता  गरिरहेका  बेलामा भने शान्तिनगर ५ का केही युवाहरू पनि कलासंस्कृति जोगाउन लागि परेका छन् ।

 

तस्बिर : डिल्ली कुमाल

कुनै पनि कार्यक्रम भएमा आफ्नो गाउँ ठाउँको नाचसहित संस्कृति देखाउने गरेको स्थानीय  विष्णु चौधरीले बताए ।  उनले पछिल्लो समय आफुहरुको कला संस्कृति लोप हुँदै गइरहेको अवस्थामा आफूहरु संरक्षण गर्न लागि गरेको समेत बताए । त्यस्तै उनले आफू जस्तै उमेरकाले संरक्षण गर्नको लागि परेको भएयता पनि आफ्नो छोरा छोरीहरुले सबै भुल्दै गएको बताए ।

त्यस्तै उनले आफूहरूको कलासंस्कृतीलाई बचाउनको लागि सरकारले पनि विशेष ध्यान दिनु पर्ने बताए । ‘हाम्रो कला संस्कृति हराउँदै गएकोमा हामीलाई पनि चिन्ता छ,’ उनले भने,‘  युवा पुस्ताहरू बेरोजगार भएर विदेश जान बाध्य छन् । पुराना पुस्ता बूढा भइसके । राज्यले युवाहरुलाई गाउँ ठाउँ मै रोजगारको व्यवस्था गरे ।  उनीहरु घरमै बस्ने र कला संस्कृतिको ध्यान दिन सक्छन् । ’

त्यस्तै उनले कोरोना महामारीले गर्दा पनि आफूहरुलाई धेरै समस्या भएको बताए । उनले कोरोनाका कारण भिडभाड गर्न नमिल्ने भएकाले पनि विगतका वर्ष झै यस पटक पनि नाचगान कार्यक्रम गर्न समस्या भएको बताए ।

तस्बिर : डिल्ली कुमाल

‘ गाउँका साथी भाइ मिलेर नाँच गान गरौँ, भनेपनि कोरोना महामारीले गर्दा समस्या भएको छ,‘ यस पटक पनि हाम्रो तयारी थियो । तर, अहिले जिल्लामा कोरोना बढेपछि २५ जना भन्दा बढिको भिडभाड गर्न नमिल्ने भनेपछि समस्या भएको हो ।’

त्यस्तै पछिल्लो समय थारू समुदायको मात्र नभइ विभिन्न समुदायका मौलिक कला संस्कृति हराउँदै गएपछि स्थानीय सरकारले पनि संरक्षण गर्न विभिन्न किसीमका सहयोग गर्दै आएको छ ।  आधुनिकता सँगै मौलिकता हराउन थालेपछि त्यसलाई जोगानउन आफूहरुले  विभिन्न किसीमका कार्यक्रम गर्दै आइरहेको शान्तिनगर ५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताए ।

उनले आफ्नो वडामा थारू समुदाय धेरै भएकाले विगतका वर्षदेखि नै माघीका अवसर सांस्कृति कार्यक्रमको आयोजना गरी उनीहरूको पहिचान जोगाउन काम गर्दै आएको बताए । त्यस्तै उनले आफू जनप्रतिनिधि भएर आएपछि  मटहवा नभएको चौधरी गाउँमा मटहवा बनाएको र भुह्यारथान  संरक्षणको लागि पनि सहयोग गरेको उनले बताए ।

त्यस्तै शान्तिनगर ६ ले पनि थारू समुदायको कला संस्कृति संरक्षण गर्न उनीहरुले बजाउने बाजा, पहिरन र वडाका ७ ओटा गाउँका ७ जना मटहवालाई सम्मान गरेको वडाध्यक्ष रवि बुढाथोकीले बताए । उनले कुनै पनि ठाउँको पहिचान त्यस ठाउँको धर्मसंस्कृति र कलाले चिनाउने भन्दै थारू समुदायको लोप हुन लागेको संस्कृतिलाई संरक्षण गर्न राज्यको दायित्व हुने भएकाले आफूहरुले सहयोग र सम्मान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार