दाङमा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोरोना खोप कार्ड देखाउनु पर्ने

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २९ गते बिहिवार


दाङ :  दाङमा कोरोना संक्रमण बढ्दै गएपछि आउँदो माघ ७ गतेदेखि खोप कार्ड भए मात्रै सार्वजनिक स्थानहरूमा प्रवेश गर्न पाइने भएको छ । बिहीबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा र पार्कमा प्रवेश गर्दा अनिवार्य रुपमा कोरोना खोप लगाएको कार्ड देखाउनु पर्ने र त्यो कार्डको मोबाइलमा फोटो भएपनि हुने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा जारी सूचनामा उल्लेख छ । 

त्यस्तै कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै  बिहीबार राती १२ बजेदेखि लागू हुने गरी जिल्लामा होटल तथा रेष्टुरेन्ट व्यवसाय साँझ ७ बजेसम्म मात्र सञ्चालनमा गर्न दिने  निर्णय  भएको छ । त्यसैगरी, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम गर्न रोक लगाउने र २५ जना भन्दा बढीको भेलालाई पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ ।

यसैगरी संघ सरकारले भने अनुसार माघ १५ गते सम्म विद्यालयहरू खोल्न नपाइने र सञ्चालित परीक्षा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । सार्वजनिक सवारीका साधनमा सिट क्षमता अनुसार मात्रै यात्रु राख्ने, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग तथा व्यवस्था गर्ने भनिएको छ ।

साथै गाडीका ढोकामा सबैले सेनिटाइजरको व्यवस्था गर्ने र मास्क नलगाएका यात्रुलाई नचढाउने सम्म भनिएको छ । त्यसैगरी, सेवाग्राहीको अत्यधिक भिड हुने सरकारी, गैरसरकारी कार्यालय एवं बैंक वित्तिय संस्थाहरूमा त्यहाँका प्रमुखले सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिँदै कार्यान्वयन गर्ने निर्णय भएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका प्रतिनिधि एवं अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । निर्णयको कार्यान्वयन भए नभएको बारेमा सुरक्षा निकायबाट नियमित अनुगमन हुने भएको छ । यदि कार्यान्वयन नभएका पाइए सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार