कृषि पेशामा रमाउँदै महेश ( फोटो फिचर )

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २९ गते बिहिवार


दाङ :  शान्तिनगर गाउँपालिका ५ रगैँचाका महेश चौधरीको हिजो आज दैनिकी लोकल कुखुरा र बङ्गुरको हेरचाहमा बित्ने गरेको छ । करिब २ बिगाहा आफ्नै जमिनमा चौधरी रगैँचा पशुपंक्षी तथा कृषी फर्म दर्ता गरी लोकल कुखुरा, बंगुर, र तरकारी खेती गर्दै आएका छन् । केही वर्ष अगाडि गाउँमा काम नभएपछि वैदेशिक रोजगारीका लागि दुबई जाने तयारी गरेका थिए ।

उनले म्यानपावर कम्पनीलाई आफ्नो पासपोर्ट पनि बुझाए । तर, लामो समय सम्म भिसा नआएपछि उनी अन्तत : आफै ठाउँमा केही गर्नुपर्छ भनेर उनले २०७६ सालदेखि यो व्यवसाय शुरु गरेको बताए । अहिले आफूले लोकल कुखुरा, बंगुर र तरकारी खेती गर्दै आइरहेको भन्दै उनले उन्नत जातका बाख्रा पालनको लागि खोर तयार गरेको समेत बताए ।

उनले भने,‘ अहिले मसँग करिब ८ सय लोकल कुखुरा हरु रहेका छन् । ति मध्य पनि केही बदिया बनाएका भालेहरू रहेका छन् । बंगुर पनि १० ओटा रहेका छन् । अब बाख्रा लिने तयारमा छु । खोर निर्माण भइसेकेको छ । करिब ३० ओटा उन्नत जातका बाख्रा पाल्ने योजना रहेको छ । ’

उनले अहिले कुखुराहरु भालेलाई ७ सय र पोथीलाई ६ सयमा बिक्री गर्दै आइरहेको भन्दै बदिया भाले १२ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गरेको बताए । ‘ म गाउँमा केही काम नभएपछि विदेश जाने तयारी गरेको थिए,‘ उनले भने,‘ तर, लामो समय सम्म पनि भिसा आएन । अनि घरपरिवारको सल्लाह अनुसार यो व्यवसाय शुरु गरे अहिले निकै खुशी छु ।’

त्यस्तै उनले अहिले सम्म यो व्यवसाय गर्नको लागि ७० लाख भन्दा बढि लगानी लागेको बताए । केही आफ्नो पैसा र केही ऋण लिएर काम गरेको उनको भनाइ छ । त्यस्तै उनले शुरुमा यो व्यवसाय गर्दा आफूलाई कुनै पनि अनुभव नहुँदा समस्या भएयता पनि अहिले बुझ्दै जादा राम्रा हुँदै गएको समेत बताए । ‘

शुरुमा मैले कुखुराबाट यो व्यवसाय शुरु गरेको थिए । तर, मलाई धेरै अनुभव नहुँदा धेरै कुखुराहरु मरेका थिए । अहिले धेरै अनुभव भयो । अहिले राम्रोसँग कुखुरा हुर्किरहेका छन्,’ उनले भने । त्यस्तै आफूहरूले घरमा व्यवसायमा बाँडफाँड गरेर हेर्दै आएको समेत बताए । उनले मैले कुखुरा हेर्ने गरेको छु । आमा र श्रीमतीले बंगुर र तरकारी हेर्दै आएका छन् ।

‘ हामी घरमा ५ जनाको परिवार छ । बुवा जागरिमा हुनुहुन्छ, । दाजु विदेशमा हुनुहुन्छ । हामी घरमा भएकाले आ– आफ्नो काम समालेका छौँ । सबैको साथ र सहयोगबाट काम गर्न निकै राम्रो भएको छ,’ उनले भने । त्यस्तै उनले आफूहरूले उत्पादन गरेका बस्तुहरू बेच्नको लागि समस्या नभएको समेत उल्लेख गरे । उनले अहिले तरकारीहरूमा फूलगोभी, बन्दागोभी, आलु, टमाटर र करेला गर्दै आएको बताए । यसैगरी उनले स्थानीय सरकारले आफूहरूलाई कृषि औजारमा सहयोग गरेको बताए ।

उनले वडा तथा गाउँपालिकाले चाप कटर, पानी तान्न मोटर दाना पिस्नलाई मिल सहयोग गरेको बताए ।  त्यस्तै उनले आफूहरूले करिब १० लाख लगानीमा तयार गरेको बंगुर खोर गत असोजमा आएको पानीका कारण पहिरो जादा जोखिममा रहेको भन्दै स्थानीय सरकारलाई सहयोग गरिदिन आग्रह गरे । पहिरोको कारण खोर जोखिममा रहेको भएयता पनि अहिले त्यही खोरमा बंगुर पाल्दै आएको उनको भनाइ छ ।

उनले भने,‘ यदि म विदेश गएको भएपनि यति धेरै खुशी हुन्थ्ये होला । आज म धेरै खुशी छु । अहिले मैले शूरुवातमा केही कमाउन नसकेपनि केही वर्षपछि पक्कै कमाउने छु । विदेशमा गएपनि यसरी नै काम गर्नु पर्छ । तर, यहाँ काम गर्दा धेरै खुशी छु । म जस्ता युवाहरुलाई पनि विदेशमा भन्दा पनि आफ्नै गाउँ ठाउँमा मेहनेत गर्न आग्रह गर्दछु ।’

त्यस्तै शान्तिनगरपालिका वडा नं. ५ का वडाध्यक्ष गिरीराज बस्नेतले आफूहरु स्थानीय तहमा आइसेकेपछि कृषि, स्वास्थ्य, शिक्षा लगायत विकास निर्माणमा काम गर्दै आइरहेको बताए । उनले आफूहरूले यसफर्मलाई वडाबाट हुन सहयोग गरेको र गाउँपालिकाबाट हुने सहयोगको लागि पहल गरेको समेत बताए ।

त्यस्तै उनले पशुका प्राविधिहरुलाई पनि वेला वेलामा आएर अवस्था बुझ्न पठाउँने गरेको बताए । उनले कुनै पनि युवाहरु आफ्नो ठाउँमा कुनै पनि व्यवसाय गर्न चाहेमा स्थानीय सरकारले सक्दो सहयोग गर्ने र यदि प्रदेश र संघीयबाट सहयोग आवश्यक भए पहल गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार