तुलसीपुरमा छोरीलाई निशुल्क प्राविधिक शिक्षा 

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २९ गते बिहिवार

 

दाङ :  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की पुजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन् । सानै उमेरमा बुबा गुमाएकी पूजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो । आर्थिक कारणले सोचेको कुरा पढ्न पाइदैन की भन्ने चिन्ता बढ्दै गइरहेको थियो ।

“तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूलाई निशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि मेरो प्राविधिक शिक्षा पढ्ने सपना पुरा भएको छ ” कुशल खाद्य विज्ञ बन्ने सपना देखेकी पूजाले भनिन् । उनी अहिले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन् ।   

तुलसीपुर कै वडा नम्बर ४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ बन्ने सपना थियो । उनको सपना पनि अहिले साकार भएको छ । “निशुल्क रुपमा आफूले चाहेको विषय पढ्न पाउँदा असाध्यै खुसी छु” उनले खुसी व्यक्त गरिन् ।  बालमितेरी मावि भोजपुरबाट एसईई दिएकी अरुणा चौधरीको मेकानिकल इन्जिनियरिङ् पढ्ने सपना पनि यतिबेला सार्थक भएको छ ।

“बाबा आमाले पढ्न सकिदैन भन्नु भएको थियो तर पूर्ण छात्रवृत्ति पाएपछि अहिले पढ्न सम्भव भएको छ ” चौधरीले भनिन् । तुलसीपुर ३ की आइसा ढकालको इलेक्ट्रिकल इन्जिनियरिङ् पढ्ने सपना पनि सार्थक भएको छ । “३ वर्ष पढेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा ढुक्क छु” ढकालले खुसी व्यक्त गरिन् ।  यी केही प्रतिनिधि खुसी मात्रै हुन् । दर्जनौँ छोरीहरूले यतिबेला प्राविधिक विषयको अध्ययन गरिरहेका छन् ।

  तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथमा स्थानीय सरकारले शिक्षालयको स्थापना गरेको हो । शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका पालिका भित्रका सबै छात्राहरूलाई निशुल्क अध्यापन गराउँने गरिएको शिक्षालयका प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार निशुल्क पढ्ने सबै छात्राहरूको शुल्क भने पालिकाले तिर्ने गरेको छ ।  उपमहानगरपालिकाले छात्रवृत्ति दिएर अहिले १ सय छात्राहरूले शिक्षालयमा विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको पनि आचार्यले बताए । “ सामुदायिकमा पढ्ने जुनकुनै छात्राले अध्ययन गर्न चाहेपनि हामीले पूर्ण छात्रवृत्ति दिने गरेका छौँ” उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

उनले छात्रवृत्ति दिन थालेपछि प्राविधिक शिक्षा पढ्ने छात्राहरूको संख्या उल्लेख्य रूपमा बढेर गएको पनि बताए । “हामीले छात्रवृत्ति दिनुभन्दा पहिले यहाँ प्राविधिक शिक्षा अध्ययन गर्ने छात्राको संख्या निकै न्यून थियो” प्रमुख भण्डारीले भने । उनले सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्राहरूलाई निशुल्क प्राविधिक विषय अध्यापन गराउन थालेदेखि सामुदायिक विद्यालयमा छात्राहरूको संख्या बढेर गएको समेत बताए । 

छोरीहरूले अरुको मुख ताक्नु पर्दैन : नगरप्रमुख पाण्डे 


नगरप्रमुख घनश्याम पाण्डेले छोरीहरूले प्राविधिक शिक्षा अध्ययन गरेमा अरुको मुख ताक्नुनपर्ने बताएका छन् । नगरले छोरीहरूलाई स्मार्ट वनाउनका लागि शिक्षामा जोड दिएको पनि बताए ।  “छोरीहरुलाई आत्मनिर्भर वनाउनका लागि मुख्य गरेर सीपमुलक शिक्षामा ध्यान दिनुपर्नेछ” नगरप्रमुख पाण्डेले भने ।

उनले तुलसीपुरलाई  प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारकै पहलमा शिक्षालयको स्थापना गरेको बताए । “आजको जमानामा प्राविधिक शिक्षाले बेरोजगारीको समस्या अन्त गर्न सक्छ ” नगरप्रमुख पाण्डेले विभिन्न संघसंस्थासँग सहकार्य गरेर छोटो अवधिको तालिम समेत सञ्चालनमा पालिकाले ध्यान दिएको बताए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार