सवारी दुर्घटनाको मुख्य कारण : प्रहरी भन्छ, चालक, चालक भन्छन् सडक

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २१ गते मङ्गलवार


दाङ :  पछिल्लो समय धेरै नै सवारी दुर्घटना हुँदा धेरैले अकालमै ज्यान गुमाएका छन्, भने धेरै घाइते भएका छन् । तिहारको भोलिपल्ट सल्यानबाट दाङ आउन लागेको बस सल्यानको कपुरकोटमा दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए, भने धेरै घाइते भए ।

सल्यानमा घटना घटेको २४ घण्टा बित्न नपाउँदै सल्यानको कालिमाटीबाट दाङको तुलसीपुर आउँदै गरेको जिप बबई गाउँपालिका २ एक्ले बर नजिकै दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो, भने १९ जना घाइते भएका थिए । त्यस्तै गत कार्तिक २८ गते रोल्पाको माडी गाउँपालिका ६ स्थित घर्ती गाउँ नजिकै जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो, भने २ जना घाइते भएका थिए । त्यस्तै मंसिर ३ गते फेरि रोल्पामा दाङबाट गएको बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै र १९ जना घाइते भएका थिए ।

यि घटना त उदाहरण मात्र हुन् । भौगोलिक बनावटको समस्या, सवारी साधनले क्षमता भन्दा बढि यात्रु बोक्ने र चालकको लापरबाहीले गर्दा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । जिल्ला ट्राफिक कार्यालय दाङ प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार सवारी दुर्घटना हुनुमा धेरै कारणहरू भएयता पनि मुख्य ४-५ वटा रहेका छन् । जसले गर्दा सवारी दुर्घटना हुने गर्दछ । सवारी दुर्घटना हुनुमा मुख्य कारण चालक रहेको उनको भनाइ छ ।

त्यस्तै सवारी साधनको अवस्था राम्रो नहुँदा, सडक जीर्ण हुँदा पनि दुर्घटनाहरू हुने गरेको उनले बताए । जिल्लामा आफूहरूले दुर्घटना न्यूनिकरण गर्नको लागि सक्रिय रुपमा काम गर्दै आइरहेको समेत उनले बताए । त्यस्तै उनले वर्षायाममा पानीले र हिँउदमा हुस्सुले गर्दा पनि दुर्घटनाहरू हुने गरेको बताए ।

उनले भने,‘ मुख्य कारण त मानवीय कारण नै हो । चालकले लापरबाही गरी सवारी चलाउँदा धेरै दुर्घटना हुने गर्दछन् । तीब्र गति, मादक पदार्थ सेवन, सवारीको सिट क्षमता भन्दा बढि मालसामान, यात्रु बोक्दा दुर्घटना हुने गर्दछ । तर, हामीले दुर्घटना भएपनि अनुसन्धान गर्दा सबै भन्दा बढि तीब्र गति नै हो । ’

यसैगरी उनले सडकको अवस्था अनुसार नै दुर्घटनाहरू हुने गरेको समेत बताए । उनले सडकको अवस्था राम्रो भएमा दुर्घटना कम हुने र जीर्ण अवस्था भएमा दुर्घटनाको जोखिम बढि हुने भएकाले पनि दुर्घटना हुने गरेको बताए । यता प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै आएको भएयता पनि सवारी चालक तथा यातायात व्यवसायीहरू भने सडकको कारण दुर्घटना हुने गरेको बताउँछन् ।

केही दुर्घटनाहरू चालकका लापरबाहीका कारण हुने भएयता पनि पछिल्लो समय सडकका कारण दुर्घटना हुने गरेको घोराही – तुलसीपुर सार्वजनिक बस चलाउँदै आएका चालक लोकमणि पोख्रेलले बताए । उनले चालकको लापरबाहीका कारण दुर्घटना कम मात्रामा हुने दाबी गरे ।

उनले भने,‘ चालकले सबै यात्रुहरूलाई गन्तव्य सम्म पु–याउने भनेर जिम्मा लिएर सवारी चलाएको हुन्छ । उसलाई पनि बाच्ने रहर हुन्छ । सडक नै राम्रो नभए पनि सवारी साधन कसरी चलाउन सकिन्छ । ’ उनले कुनै पनि ठाउँमा गाडीहरू दुर्घटना भए चालकको लापरबाहीका कारण भएको भन्दै आफूहरूलाई नै राज्यले दोषी दिने गरेको गुनासो समेत गरे । ‘

उनले अहिले जति पनि घटनाहरू भएका छन् । त्यो चालकका कारण नै भन्ने गरिन्छ । सडकका कारण दुर्घटना भएको भनेर राज्यले कहिले भनेको सुन्न पाइदैन्,‘ उनले भने । उनका अनुसार तुलसीपुर देखि घोराही सम्म दूरी २४ किलोमिटर छ ।

तर, त्यो दूरी पार गर्न पौने घण्टा समय लाग्ने गर्दछ । करिब २ वर्षदेखि सडक र्जीण अवस्थामा हुँदा कति बेला दुर्घटना हुने हो । कसैलाई थाहाँ नभएको भन्दै उनले सडकमा खाल्टा खुल्टी धेरै भएका कारण दुर्घटना जोखिम बढि रहेको बताए । त्यस्तै यातायात व्यवसायी भीम बहादुर खत्रीले पनि चालकको कारणले मात्र दुर्घटना नभइ विभिन्न कारणले गर्दा हुने गरेको बताए ।

दुर्घटना हुनुमा मुख्य कारण सडक भएको उनको भनाइ छ । यस्तै उनले गाडी मालिकहरुको कारणले पनि दुर्घटना हुने गरेको समेत बताए । उनले भने,‘ कुनै पनि दुर्घटना भएपछि सिधैँ चालकलाई दोषी देखिन्छ । तर, यहाँ चालक भन्दा पनि सडक र गाडी मालिकहरु पनि दुर्घटना हुनुको मुख्य कारण हुन् ।

सडक राम्रो नहुँदा गाडीहरुको अवस्था राम्रो हुँदैन् । मालिकहरुले गाडी मर्मत नगराइ पैसा कमाउनमा ध्यान दिँदा दुर्घटना हुने गरेको पाइन्छ । ’ उनका अनुसार घोराही– तुलसीपुर सडक चारलेनको नाममा अस्तव्यस्त हुँदा सबैले सास्ती भोग्दै आएका छन् । सडकको वरीपरी खाडल बनाएर दुइ वटा गाडीहरू एक आपसमा पास हुने अवस्था समेत नरहेको उनको भनाइ छ ।

लामो समयसम्म निर्माणाधिन सडकहरु अलपत्र हुँदा र निर्माण भएका सडकहरु गुनस्तरिय नहुँदा सडक जीर्ण भएपछि दुर्घटनाहरू हुने गरेको उनले बताए । ‘ दाङकै घोराही तुलसीपुर सडकको अवस्था यस्तो छ । २-३ वर्ष भयो, बन्न लागेको अहिले सम्म केही भएको छैन् ,’ उनले भने,‘ अन्य पहाडी जिल्लाको सडकको अवस्था कस्तो होला ।

तराइ जस्तो ठाउँको सडको हालत यस्तो छ । घोराही देखि तुलसीपुर जान करिब पौने घण्टा लाग्छ । तर, अहिले सडकका कारण २ घण्टा लाग्छ । एकदमै जोखिम रहेको छ । यस्तो सडकमा दुर्घटना नभए कहाँ हुन्छ ?’ त्यस्तै उनले सडकको मात्र नभइ चालकहरूको कारण र सवारी सधानको समस्याका कारण पनि दुर्घटना हुने गरेको बताए ।

उनले सवारी चलाउँदा सडकको अवस्था र सवारीको अवस्था अनुसार चलाउनु पर्ने समेत सुझाव दिए । त्यस्तै घोराही उपमहानगरपालिका १५ का स्थानीय लेखनाथ बुढाथोकिले पनि सडक र चालकका कारण नै दुर्घटनाहरू हुने गरेको बताए ।

उनले सडकको अवस्था अनुसार सवारी चलाउनु पर्ने भएयता पनि चालकहरुले तिव्र गतिमा चलाउँदा दुर्घटना हुने गरेको बताए । उनले अहिले घोराही तुलसीपुर सडकखण्डमा पनि दुर्घटनाको जोखिम रहेको उनले बताए । लामो समयदेखि सडक निर्माण नहुँदा सडक जीर्ण र सवारीको चाप धेरै हुने भएकाले दुर्घटनाको जोखिम बढिरहेको उनको भनाइ छ ।

‘ अहिले फोर लेन सडकको निर्माण कार्य एकातिर छ । सडकको अवस्था एकातिर छ,’ उनले भने,‘ पहाडी जिल्ला जाने सडकको कुरै नगरौँ । पिच भएको सडक पनि अहिले नाम मात्र पिच छ । सडकमा पैदल हिड्न नसक्ने अवस्थाका छन् । त्यसमा सवारी साधन कसरी चल्छन् होला । जसले गर्दा जोखिम बढि रहेको छ । वर्षायामको पानीले सडक जीर्ण बनाएको छ । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार