घोराहीले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिँदै

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २१ गते मङ्गलवार


दाङ :  घोराही उपमहानगरपालिकाले उपमहानगर भित्र कोरोना भाइरसका कारण मृत्यु भएका परिवारहरूलाई राहत दिन शुरु गरेको छ । कोरोनाबाट उपमहानगरमा धेरै जसो निम्न परिवारका ब्यक्तिहरूको मृत्यु भएका कारण उनीहरूलाई थोरै राहत भएपनि पुगोस् भनेर नै दिन शुरु गरेको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले बताए ।

‘ उपमहानगरमा कोरोना भाइरसबाट मृत्यु हुनमा धेरै जसो निम्न परिवारका ब्यक्तिहरू भएको भनी हामीले डाटा पायौँ,’ उनले भने,‘ ९ औँ नगरसभाबाट पारित गरेर कम्तिमा पनि ५० हजार दिने निर्णय गयौँ । कम्तिमा पनि मृतकका परिवारलाई राहत स्वरुप दिनुपर्दछ भनेर नै एक परिवारलाई ५० हजार दिन शुरु गरेका छौँ ।’

अहिलेसम्म ५४ जना परिवारलाई राहत प्रदान गरेको समेत उनको भनाइ छ । उपमहानगरमा कोरोना भाइरसका कारण एक सय जनाले ज्यान गुमाएका छन् । परिवारको सदस्य गुमाउनेहरुलाई ठुलै पीडा रहेको भन्दै उनले उपमहानगरले दिएको सानो राहतले उनीहरूलाई केही सम्म राहत मिल्नेमा आफूहरूले विश्वास लिएको समेत बताए ।

यस्तै प्रवक्ता अर्यालले कोरोना महामारीको समयमा पनि स्थानीय सरकारले नाताले आफ्नो ठाउँबाट धेरै काम गरेको समेत बताए । उनले भने,‘ हामीले जति सक्थ्यौँ त्यति हाम्रो तर्फबाट कोरोना विरुद्धको लडाइमा काम गरेका थियौँ । हामीलाई मात्र नभइ राष्ट्रिय रुपमा नै त्यो बेला अक्सिजन, बेडहरुको अभाव रहेको थियो । तर ,हामीले हाम्रो तर्फबाट प्रयास गरेका थियौँ । फेरि पनि नयाँ भेरियन्टको कुरा आएको छ । त्यसका लागि पनि हामी सजग भएर पूर्व तयारी अवस्थामा छौँ ।’

उनले अहिले सम्म आफूहरूले स्वास्थ्य मन्त्रालयबाट यो किसिमको तयारी गर्ने भनेर परिपत्र नभएको भएयता पनि आफू पूर्व तयारी अवस्थामा बसेको बताए । त्यस्तै कोभिड नियन्त्रण भन्ने संयन्त्रहरू क्रियाशील रुपमा काम गरिरहेको समेत उनको भनाइ छ ।

यस्तै मापदण्ड नीति बनाएर नै कोरोनाबाट मृत्यु भएका परिवारहरूलाई राहत दिन शुरु गरेको उपमहानगरले जनाएको छ । उपमहानगरमा स्थायी बसोबास गरेका ब्यक्तिहरूको परिवारलाई मात्र राहत दिने मापदण्ड बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार