• २०७८ मङ्सिर २१ गते मङ्गलवार

दशैँलाई, दशा नबनाउन मेयर पाण्डेको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २९ गते शुक्रवार


दाङ :  तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले दसैँलाई दशा नबनाउन आग्रह गरेका छन् । हिन्दु नेपालीहरूको महान चाड बडादसैँको अवसरमा नगरवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै नगर प्रमुख पाण्डेले सहज तरिकाले चाडपर्व मनाउन आग्रह गरेका छन् ।

   शुभकामना सन्देश व्यक्त गर्दै नगर प्रमुख पाण्डेले हाम्रा सांस्कृतिक चाडपर्वलाई सहज र लोकतान्त्रिकरणको बनाउँदै लैजानुपर्ने बताए । ‘अर्काले के खायो केलायो भनेर देखासिकी गर्नुभन्दा पनि आफ्नो आर्थिक अवस्था हेरेर दशैँ तिहार मनाउनुस् । आफ्नो घरमा जे छ त्यसैमा रमाउनुस् । चाडपर्वलाई चड्किलो र भड्किलो नबनाउनुस् । जसलेगर्दा दशैँ, दशा नबनोस् ।’

 नगर प्रमुख पाण्डेले शुभकामना सन्देशमा भनेका छन् । लामो समयसम्म घर बाहिर भएकाहरू गाउँमा फर्किने, आफन्तबाट टाढा भएकाहरू दशैँमा मान्यजन कहाँ टिका तथा आर्शीबाद थाप्न जाने भएकाले यस पर्वलाई सामाजिक सद्भाव, एकता, मिलन र मेलमिलापको पर्वका रुपमा लिनुपर्ने नगर प्रमुख पाण्डेले बताए ।

सबै जाति, भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको बताउँदै नगर प्रमुख पाण्डेले दशैँ लगायतका हाम्रा सांस्कृतिक पर्वहरूलाई नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताए ।   

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार