राप्ती सोनारीले  संक्रमित ब्यक्तिलाई राहत दिँदै

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २४ गते आइतवार


बाँके :  राप्ती सोनारी गाउँपालिका क्षेत्रका कोरोना संक्रमित ब्यक्तिलाई राहत रकम वितरण सुरु गरिएको छ । गाउँपालिका कार्यालयले आइतबारबाट जनही ५ हजार रुपैयाँका दरले वितरण सुरु गरेको हो ।  गाउँपालिकाले केही महिनाअघि कोरोना संक्रमित भएका ब्यक्तिलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई किरिया खर्च वापत जनही २० हजार तथा राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकेको छ ।  गाउँपालिका अध्यक्ष लाहुराम थारूले मृत्युको शैयाबाट फर्केका कोरोना संक्रमित ब्यक्तिलाई हौसला प्रदान गर्न र सर्वसाधारणलाई कोरोना परीक्षणका लागि अभिप्रेरित गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताए ।

कोरोना संक्रमितलाई रकम दिनेमा गाउँपालिका सम्भवतः देशकै पहिलो गाउँपालिका भएको उनको दाबी छ ।  गाउँपालिकाले आइतबार पहिलो दिन मात्रै कोरोना संक्रमित भएर निको भएका ८० जना ब्यक्तिलाई ४ लाख रुपैयाँ वितरण गरेको उनले बताए । गाउँपालिका क्षेत्रभित्र ७ सय ५० जना कोरोना संक्रमित व्यक्ति रहेको तथ्यांक छ । ‘सकभर दशैँ अगाडि नै सबै ब्यक्तिलाई रकम वितरण गर्ने हाम्रो योजना छ,’ उनले भने,‘सबैलाई वितरण गर्दासम्म ३७ लाख ५० हजार जति खर्च हुने हाम्रो अनुमान छ ।’ 

गाउँपालिकाले यसअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएका २३ जना ब्यक्तिका परिवारलाई किरिया खर्च वापत २० हजार र राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकिएको उनको भनाइ छ  । ‘हामीले मृतकका परिवारलाई किरिया खर्च र राहत रकम प्रदान गरिसकेका छौं, उनले भने ‘कोरोना संक्रमित भएर निको भएपनि उनीहरु मृत्युको शैयाबाट बाँचेर फर्केका हुन्, उनीहरूको पनि उपचारका क्रममा गाडीभाडा, फलफूल, औषधी उपचारमा थुप्रै पैसा खर्च भएको छ, त्यसमा थोरै भएपनि राहत मिलोस् भन्ने पनि हो ।’   गाउँपालिका अध्यक्ष थारू पनि कोरोना संक्रमित भएर निको भएका हुन । उनीसहित उपाध्यक्ष धनी कुमारी खत्री तथा वडाका जनप्रतिनिधि र थुप्रै कर्मचारी संक्रमित भएर निको हुनु भएको थियो ।  राप्ती सोनारी–६ का वडा सदस्य तारा कसेराको त कोरोना संक्रमण बाटै मृत्यु भयो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार