तुलसीपुर नगर स्तरीय कराते प्रतियोगिता सुरु 

Author Logo..
लक्ष्मण बस्नेत  २०७८ असोज २४ गते आइतवार

दाङ :   तुलसीपुरमा तुलसीपुर नगर स्तरीय कराते प्रतियोगिता २०७८ आइतबार देखि सुरु भएको छ । सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ को आयोजनामा कराते हल तुलसीपुर ९ बेलुवामा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि मेयर पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धिसँग जोडेर लैजानु पर्ने बताए ।  उनले खेलकुद राष्ट्रको सान र गौरव भएको भन्दै यसलाई खेल पर्यटनको गन्तव्यको रुपमा विकास गर्न सके देश समृद्धिको दिशा तर्फ उन्मुख हुने बताए ।

 साथै उनले यसका लागि सबै को चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताए ।  सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ का प्रमुख प्रशिक्षक पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का अध्यक्ष घनश्याम ढकाल, दाङ जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डाँगीको विशिष्ट आतिथ्यमा भएको थियो ।  सो अवसरमा कराते खेलको विकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याए वापत नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बलराज नेपालीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि द्वय घनश्याम ढकाल, डिल्ली बहादुर डाँगी लगायतले शुभकामना मन्तव्य गरेका थिए । कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।  यसैबीच आइतबार सम्पन्न कुमुते महिला तर्फको ४० केजी तौल समुहमा अरनिको डोजो तुलसीपुरकी बिनिता बुढामगरले स्वर्ण पदक जितिन् । त्यस्तै भट्टे डोजोकी सम्झना बिकले रजत पदक हात पार्दा रगैचा डोजोकी बालिका खड्का र हापुरे डोजोकी करिश्मा केसीले काश्य पदक जिते । त्यस्तै ४५  केजी तौल समुहमा अरनिको डोजोकी विमला डाँगीले स्वर्ण पदक जितिन । त्यस्तै अरनिको डोजोकी निशा केसीले रजत पदक हात पार्दा हापुरे डोजोकी झरना बिक र अरनिको डोजोकी सुहाना वलीले काश्य पदक जिते ।प्रतियोगिता  सोमबार सम्म चल्नेछ । प्रतियोगितामा तुलसीपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार