३ करोड ५४ लाखको झोलुंगे पुलको शिलान्यास

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २२ गते शुक्रवार

दाङ : राष्ट्रिय सभा सदस्य कोमल ओलीले तुलसीपुर र दंगीशरण जोड्ने झोलुंगे पुलको शिलान्यास गरेकी छिन् । बिहीबार सांसद ओलीले तुलसीपुर उपमहानगरपालिका १०, ११ र दंगीशरण गाउँपालिका १, २ सरुवा डाँडा जोड्ने बबई नदिमा बन्न लागेको झोलुङ्गे पुलको शिलान्यास गरेकी हुन् । पुल शिलान्यास कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी ओलीले स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएपछि उक्त नदीमा झोलुङ्गे पुल निर्माणको लागि संघीय सरकारसँग पहल गरेको बताएकी छिन् । उक्त पुलको लागि ३ करोड ५४ लाखको बजेट विनियोजन भइ कामलाई प्रारम्भ गर्न पाउँदा खुशी लागेको बताएकी छिन् । साथै उनले कार्यक्रममा बोल्दै एमाले पार्टी पुलको काम गर्ने पार्टी भएको बताएकी छिन् ।

आफू पनि यही बाटो भएर सानैदेखि आवतजावत गरेकोले नदी वारपार गर्दा पाएको सास्ती अझैसम्म पनि ताजै भएको बताइन् । साथै उनले निर्माण कम्पनीलाई निर्धारित समयमा नै पुल निर्माण सम्पन्न गर्न आग्रह गरिन् । र स्थानीयवासीलाई अब पुल निर्माण हुन लागेको भन्दै पुल निर्माणमा आवश्यक सहयोग र समन्वयमा कति पनि कन्जुसाई नगर्न भनेकी छिन् । त्यस्तै सांसद ओलीले विकास निर्माणमा पार्टीगत धारणा नराख्न पनि भनेकी छिन् । झोलुंगे पुल निर्माण भएमा यहाँका बालबालिकालाई विद्यालय जानमा सहज हुने समेत बताएकी छिन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष चित्र बहादुर वलीले मोतिपुर बासीले अब वर्षातको समयमा  ढुवानीको समस्याबाट ग्रसित लगायत आवतजावतको समस्याबाट पनि आजित भएकोमा अब पुल निर्माण भएपछि त्यो समस्याको अन्त्य हुने बताएका छन् । कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका वलीले पुल निर्माणमा अन्तरपार्टी हेर्नु भन्दा पनि विकास निर्माणमा जोड दिनु पर्ने बताएका छन् ।

त्यस्तै पुल निर्माणको लागि जिम्मा पाएको थानी निर्माण सेवाका ठेकेदार लोक बहादुर बस्नेतले पुल निर्माणको समय सिमा भन्दा पनि अगाडि सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । २०७७ असार २० गते पुल निर्माणका लागि ठेक्का सम्झौता भई र २०७८ पुष महिनाको २० गते भित्र पुल निर्माण गरी सक्नु पर्ने ठेक्का सम्झौता भएको उनले बताएका छन् । तिलक बहादुर बस्नेतको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मोति टोल विकास संस्थाका अध्यक्ष लिलाध्वज बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण नेकपा एमाले क्षेत्र नम्बर ३ का इन्चार्ज युवा नेता मान बहादुर रावतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार