मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ असार १८ गते शुक्रवार

  दाङ  :  दाङमा प्रहरीले १३ वटा चोरीका मोटरसाइकल सहित ८ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरि चोरी भएका १३ वटा मोटरसाइकल सहित चोरीमा संलग्न एक भारतीय नागरिक गरि ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय, ५ जना रोल्पाका, दाङ र प्युठानका एक एक जना रहेका छन् । रोल्पा सुनील स्मृति गाउँपालिका ३ का ग्लोबल बजाज सभिर्सका सञ्चालक २८ वर्षीय श्रीताज अन्सारी, रोल्पाकै लुङ्ग्री गाउँपालिका ४ का २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका ५ बडाचौरका २६ वर्षीय टेकेन्द्र विष्ट, वडा नम्बर ५ गुम्चालका २६ वर्षीय नुम बहादुर रोका मगर, सोहि ठाउँका २२ वर्षीय हिरा बहादुर विष्ट रहेका छन् ।


त्यस्तै भारत बलरामपुर घर भएका २२ वर्षीय मोहम्मद रफिक, दाङको घोराही १९ का १९ वर्षीय जावेद खान, प्युठानको स्वर्गद्वारी नगरपालिका ३ जलुकेका २४ वर्षीय ठगीराम थापा रहेको प्रहरीले बताएको छ । पक्राउ परेका श्रीजात अन्सारी ग्लोबल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । साथै उनले मोटरसाइकिल चोरी भएर नागरिक पीडित भएको गुनासो जिल्लामा आउनासाथ आफूले यो कुरालाई गम्भीरतापूर्वक लिइ अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई यो सफलता मिलेको र नागरिकमा प्रहरीप्रति अझै विश्वासको वातावरण सिर्जना गर्न यस्ता कामले सहयोगी भूमिका खेल्ने बताए ।  जिल्ला प्रहरी कार्यालय दाङबाट असई युवराज गौतमको कमान्डमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित गिरोहलाई समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताए ।  चोरीका मोटरसाइकलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार