दाङ : राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी भएको छ । लुम्बिनी प्रदेशको दाङको घोराहीमा सोमवार बिहान ९ बजे देखि हुने उपनिर्वाचनको तयारी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी बताए । उनले निर्वाचनको सबै तयारी भइसकेको र आफुहरुले मतदाताहरुलाई पर्खिएर बसेको बताए । उनका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत र अरु कर्मचारीहरु खटि सकेका छन् । त्यस्तै राष्ट्रिय उपनिर्वाचनमा कोभिड पोजेटिभको लागि छुट्टै मतदान स्थल बनाइएको समेत उनले बताए । मतदानका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा ३ वटा केन्द्र बनाइएको छ । बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म मतदान समय तोकिएको समेत उनले बताए । त्यस्तै उनले कोरोना महामारीको समयमा मतदान भएकाले आफूले त्यसतर्फ ध्यान दिएको समेत बताए । उनले भने,‘ मतदान गर्न आउने सबैलाई पिसिआर अनिवार्य भनेका छौँ । ३ वटा मतदान केन्द्रमा २÷२ जना स्वास्थ्यकर्मीहरू राखिने छ । मास्क अनिवार्य छ । हामी सबै कर्मचारीहरूले पनि स्वास्थ्य मापदण्ड पालना गरेर खटिने छौँ ।’
त्यस्तै एन्टिजेनको पनि ब्यवस्था गरेको भन्दै उनले कुनै पनि मतदातालाई कोरोना पुष्टि भए कोभिड वार्डमा राखिने समेत बताए । सम्भव भए सम्म दिउँसो ३ः३० बजेबाट मतगणना सुरु गरिने पनि अधिकृत थापाले बताए । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा २ जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै यस अघि निर्वाचन कार्यालयले यस अघि उपनिर्वाचनमा ७९ जना प्रदेशसभा सदस्यले मात्र मतदान गर्ने भनेर नामावली निकालेको थियो । तर आयोगले आइतबार मात्रै राष्ट्रिय जनता पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पुरुक मतदातको अधिकार दिएको छ । यसअघि पार्टीको कारबाहीको आधारमा आइतबार दिउँसो सम्म उनीहरुलाई मताधिकार प्रदान गरिएको थिएन । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कंवरका अनुसार निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार थप ४ जना सांसदलाई पनि पूरुक मतदाताको अधिकार दिइएको हो । यो सहित अब लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् । आयोगको पछिल्लो निर्णय संगै आइतबार दिउँसो सम्म मताधिकारबाट बञ्चित रहेका मन्त्री समेत रहेका जसपा सांसदहरु कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय ,सुमन शर्मा रायमाझी र विजय बहादुर यादवले पनि मताधिकार पाएका हुन । त्यसअघि भने पार्टीले कारवाही गरेको हुँदा उनीहरुले मतदान गर्न नपाउने भनिएको थियो । त्यस्तै उपनिर्वाचनमा प्रदेशभरका २१७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।