दाङ : गरिमा विकास बैङ्क, तुलसीपुर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार तुलसीपुर–११, मोतिपुरमा वर र पिपलका बिरुवा रोपेर वातावरण संरक्षण तथा धार्मिक आस्थासँग जोडिएको सराहनीय अभियान सञ्चालन गरेको छ। मोतिपुरको भाइरल पुल नजिकैको मोति सामुदायिक वनको खाली जग्गामा बैङ्कले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा स्थानीय समुदायको समेत सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा मोतिपुरका ज्येष्ठ नागरिक तथा समाजसेवी तिलकबहादुर बस्नेत, मोति सामुदायिक वनका अध्यक्ष लिलाध्वज बस्नेत, गरिमा विकास बैङ्क तुलसीपुर शाखाका प्रबन्धक जनक शाह लगायतले वृक्षरोपणका सहभागी भएर अभियानलाई प्रोत्साहन दिए।
समाजसेवी बस्नेतले बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भएर सार्वजनिक जग्गामा बर र पिपल रोप्नु निकै प्रेरणादायी कदम भएको बताए। धार्मिक दृष्टिले मात्र नभई वातावरणीय सन्तुलनका लागि पनि यी बिरुवाको अत्यन्त महत्व छ, उनले भने, “आज रोपिएका बिरुवाको संरक्षणमा हामी सबैले सक्रिय भूमिका खेल्नुपर्छ।” सामुदायिक वन अध्यक्ष लिलाध्वज बस्नेतले बैङ्कले छाडेर गएको सकारात्मक छाप प्रति खुशी व्यक्त गर्दै अब रोपिएका बिरुवालाई संरक्षण गर्न सामुदायिक वनले पहल गर्ने प्रतिवद्धता जनाए।
“बर र पिपलले मात्र छायाँ दिँदैन, यी बोटहरूसँग हाम्रो पहिचान र आस्था पनि गाँसिएको हुन्छ,” उनले थपे।शाखा प्रबन्धक जनक शाहले भने बैङ्कले विगतदेखि नै सामाजिक र वातावरणीय कार्यहरूमा योगदान दिँदै आएको उल्लेख गर्दै यसपटक धार्मिक र पारिस्थितिक महत्व बोकेको वर र पिपल रोपिएको जानकारी दिए। “बर र पिपल जस्ता बोटहरू आजको दिनमा लोपोन्मुख बन्दै गएका छन्। तर यी बिरुवाहरू हिन्दु धर्म अनुसार पवित्र मानिन्छन्। बरलाई भगवान बटुक भैरवको प्रतीक मानिन्छ भने पिपलमा ब्रह्मा, विष्णु र महेशको वास हुने विश्वास गरिन्छ,” शाहले भने।
उनले थपे, “यी बोटहरूले वायुमण्डलमा अक्सिजनको मात्रालाई सन्तुलनमा राख्न सहयोग गर्छन्। त्यसैले हाम्रो बैङ्कले समाजका लागि दीर्घकालीन फाइदाजनक हुने किसिमका काममा ध्यान दिएको हो।”आगामी दिनमा पनि गरिमा विकास बैङ्कले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै शाखा प्रमुख शाहले समुदायको साथ र सहकार्यको अपेक्षा व्यक्त गरे। कार्यक्रमले वातावरण संरक्षणसँगै धार्मिक मान्यताहरूलाई जोगाउने सन्देश दिएको सहभागीहरूको भनाइ थियो।