दाङ : शान्तिनगर गाउँपालिकाको केन्द्र अब जुम्लेकुला रहने भएको छ। केन्द्र परिवर्तनसम्बन्धी प्रस्ताव संघीय मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अबदेखि सम्पूर्ण प्रशासनिक कामकाज जुम्लेकुलाबाटै सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।२०८० माघ १५ गते बसेको गाउँपालिकाको १५ औँ गाउँसभा बैठकले केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो। त्यसपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै संघीय सरकारसमक्ष पेश गरिएको प्रस्ताव २०८२ जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो।
नयाँ निर्णयअनुसार अब शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नं. ४ स्थित चिराघाटबाट सोही वडाको जुम्लेकुलामा सारिएको छ।नेपाल सरकारले २०८२ असार १६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै उक्त निर्णय कार्यान्वयनमा आएको हो। शनिबार जारी गरिएको सूचना अनुसार व्यवस्थापकीय, न्यायिक तथा प्रशासनिक सम्पूर्ण काम अब जुम्लेकुलामा रहेको गाउँकार्यपालिकाको कार्यालयमार्फत हुने प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्द्रले जानकारी दिए। गाउँपालिकाले स्थायी केन्द्रको रूपमा अब जुम्लेकुलालाई नै कायम गरिएको स्पष्ट पारेको छ।