घोराहीमा निःशुल्क पत्रकारिता तालिम सुरु

Author Logo..
अनलाइन राप्ती २०८२ असार २० गते बिहिवार

दाङ :   प्रेस सेन्टर नेपाल, घोराही शाखाको आयोजनामा सञ्चालित निःशुल्क समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिम बिहिबारदेखि सुरु भएको छ। तीनदिने तालिम पत्रकारिता क्षेत्रमा प्रवेश गरेका नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यले सुरु गरिएको हो। उद्घाटन कार्यक्रम शाखा अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षतामा तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि आचार्यले, “तालिमले जिल्लाका नवप्रवेशी तथा क्रियाशील पत्रकारहरूलाई नयाँ सिप, प्रविधि र दृष्टिकोणमा समृद्ध बनाउनेछ,” भन्दै लोकतान्त्रिक पत्रकारिता अभ्यासमा यस्ता तालिमहरूको महत्व औंल्याइन्।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले डिजिटल युगका चुनौतीसँग जुझ्न सचेत, खोजी र तथ्यमा आधारित पत्रकारिता आवश्यक रहेको बताए। महासङ्घ दाङ अध्यक्ष सन्तोष सुवेदीले तालिमले पत्रकारहरूको व्यावसायिकता र जिम्मेवारीमा आधारित कार्यशैली विकासमा टेवा पुग्ने धारणा राखे। त्यस्तै, नेकपा ( माओवादी केन्द्र ) प्रचार विभाग सदस्य तथा महासङ्घका पूर्व उपाध्यक्ष उदय जिएमले पत्रकारिता सीप मात्र होइन, विचार र दृष्टिकोण विस्तारको माध्यमसमेत भएकाले तालिम आवश्यक रहेको बताए।

कार्यक्रममा प्रेस सेन्टर नेपाल अनुशासन आयोगका सदस्य प्रकाश चौधरी, उपाध्यक्ष जीवन रोका, संस्थापक अध्यक्ष पूरण शर्मा, प्रेस चौतारी दाङ सचिव निमुसंगम घती, दाङ महिला जेसिसकी उपाध्यक्ष लक्ष्मी घमा लगायतले पनि तालिमको महत्त्वबारे धारणा राखे। उद्घाटन सत्रको सहजीकरण सचिव सुविनराज सेर्पालीले र स्वागत मन्तव्य उपाध्यक्ष विष्णु गोराथोकीले गरेका थिए।

उद्घाटनको पहिलो दिन वरिष्ठ पत्रकार नरेन्द्र केसीले “समाचार र समाचार लेखन“ विषयमा विस्तृत प्रशिक्षण दिए । उनले समाचार लेखनमा निष्पक्षता, सन्तुलन र तथ्यको महत्वमाथि विशेष जोड दिए । तालिममा २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ, जसमा नयाँ र अनुभवी दुवै खालका पत्रकारहरूको उपस्थिति छ । तालिम अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूले पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

यस्तै तालिमको दोस्रो दिन लक्ष्मी आचार्यले महिला र लैङ्गिक संवेदनशीलतासहितको पत्रकारिता विषयमा प्रशिक्षण दिन् छिन । यस्तै, अजय दीप शर्माले सम्पादकीय लेखन र विचार पत्रकारिता, जनक नेपालीले टेलिभिजन पत्रकारिताबारे प्रशिक्षण दिने छन् । तेस्रोदिन सन्तोष सुवेदीले फ्याक्ट चेक र गलत सूचना विरुद्धको पत्रकारितार हेमराज परिवर्तनले डिजिटल पत्रकारिता तथा मोबाइल जर्नालिजम विषयमा प्रशिक्षण दिने तालिका तय गरिएको छ ।
तालिम नेपाल पत्रकार महासङ्घ, दाङ शाखाको सभाहलमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार