दाङ : एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै नेशनल प्याब्सन दाङले नगदसहित सम्मान गरेको छ। प्याब्सनअन्तर्गतका विद्यालयहरूबाट शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट जिपिए ल्याउने ८ जना विद्यार्थीलाई प्रति विद्यार्थी २५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो। जिल्ला सचिव छविकुमार वलीका अनुसार, छात्रातर्फ ४ जिपिए ल्याउने ६ जना छात्रा र छात्रतर्फ ३.९६ जिपिए ल्याउने २ जना छात्रलाई सम्मान गरिएको हो।
सम्मानित विद्यार्थीहरूमा राप्ती गाउँपालिकाको पब्लिक एजुकेशन एकेडेमीकी आशिका शर्मा, अमृत एकेडेमी बिजौरीकी अन्जली घर्ती, पिपुल्स ल्याण्ड सेकेन्डरी स्कूल हापुरेकी रिता पौडेल, बाल सहारा मावि बनहरीकी हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विक छन्। छात्रतर्फ मिड वेष्ट प्वाइन्ट एकेडेमी शान्तिनगरका नरेश चौधरी र लोकप्रिय विद्या मन्दिर शान्तिनगर–५ का भूपेश खड्का सम्मानित भएका छन्।
सम्मान कार्यक्रम नेशनल प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षतामा तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा तुलसीपुरमा सम्पन्न भएको थियो। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेत, ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, एन प्याब्सन तुलसीपुर अध्यक्ष सुमन केसी, राप्ती गाउँपालिका संयोजक चम्पकसिं कार्की र शिक्षासेवी शरद गौतम लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद डाँगीले गरेका थिए भने सञ्चालन जिल्ला सचिव छविकुमार वलीले गरेका थिए।