दाङ : हालै मनसुन सक्रिय भइ दाङ जिल्ला वरिपरी समेत भारी वर्षा हुन सक्ने मौसम विज्ञान विभागले आंकलन गरेको हुँदा आगामी दिनहरूमा सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, विपद् सम्भावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सोमबार जारी गरेको सूचनामा भनिएको छ कि मनसुन सक्रिय भएसँगै भारी वर्षाको सम्भावना बढ्दै गएको र त्यसले पहिरो, बाढी, चट्याङ नदी कटान जस्ता घटनाहरू हुन सक्ने जोखिम रहेकाले सम्बन्धित सबै निकाय, सुरक्षाकर्मी, स्थानीय तहहरू, सञ्चार माध्यम, रेडक्रस तथा सामाजिक संघसंस्थाहरूले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लामिछानेद्वारा हस्ताक्षरित सूचनामा स्थानीय सुरक्षा निकायहरू, नजिकको सम्पर्क राखी रहेको क्युआरटी टोली, रेडक्रस, सञ्चारकर्मी, नागरिक समाजलगायत सबै सरोकारवाला निकायहरूलाई विपद्सँग सम्बन्धित सूचना तत्काल प्रवाह गर्न अनुरोध गरिएको छ। साथै, सबै तहमा सम्पर्क, समन्वय, प्रतिकार्य र उद्धारमा जुट्न आवश्यक तयारी गर्न पनि भनिएको छ। सञ्चार माध्यमलाई विपद्सँग सम्बन्धित जनचेतनामूलक सामग्री प्रचारप्रसारमा सहयोग गर्न र विपद् भएमा तत्काल सूचना प्रवाह गर्न समेत अनुरोध गरिएको छ।